सन्दीप लामिछानेकाे मुद्दामा आज पनि भएन अन्तिम सुनुवाइ, जिम्बावे यात्रा अन्याैलमा

सन्दीप लामिछानेकाे मुद्दामा आज पनि भएन अन्तिम सुनुवाइ, जिम्बावे यात्रा अन्याैलमा


क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन । मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो। 

किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेका हुन्। यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको थियो। 

अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ। सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ। अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन्। 

दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ।

दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बाबे प्रस्थान गर्ने छ। त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ। जिम्बाबेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्ने तालिका छ। यूएई र ओमानसँग यसै महिना दुई अभ्यास खेल खेलेपछि नेपालको विश्वकप छनोट यात्रा सुरु हुनेछ। 

विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स पनि छन्। विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ। असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्ने तालिका रहेको छ। यस्तै समूहको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध असार ९ गते रहेको छ । तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाईं लम्बिने छ। त्यसैले खेल तालिकालाई असर नपर्ने गरी सन्दीपको अर्को पेसी तोक्न निवेदन दिन लागिएको हो। 

Logo