दादुरा–रुवेलाविरुद्धको खोप अभियान नौ जिल्लामा आजदेखि

दादुरा–रुवेलाविरुद्धको खोप अभियान नौ जिल्लामा आजदेखि


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागले आजदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने भएको हो ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको हो। यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो ।

दादुरा रुवेलारोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्छ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।

Logo