समाचार टिप्पणीः प्रधानमन्त्री ओलीको अयोध्या विवाद

समाचार टिप्पणीः प्रधानमन्त्री ओलीको अयोध्या विवाद


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अनावश्यक अभिव्यक्ति दिने बानीले बेला बखत चर्चा र आलोचनाका पात्र बन्ने गरेका छन् । सोमबार भानु जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित एक कार्यक्रममा बोल्दै उनी फेरि विवादमा तानिएका छन् । जहाँ प्रधानमन्त्री ओलीले भगवान् रामको भूमि अयोध्या भारतमा नभई नेपालमै भएको दाबी गरेका छन् ।

‘हामी अहिले पनि ठानिरहेका छौँ सीता भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन’–प्रधानमन्त्री ओलीले भनेका छन्–‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरी गाउँमा छ, बाल्मिकी आश्रम यहीँ (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’

त्यस्तै उनले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुरमा सीतासँग विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका छन् । उनले थपेका छन्–‘त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन कसरी सम्भव भयो ?’

भारतसँगको सामाजिक र सांस्कृतिक सम्बन्ध जोड्ने विषयमा प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएपछि अहिले नेपाल र भारतका सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा समेत बहस सुरु भएको छ । जुनसुकै विषयमा पनि हल्का रुपमा अभिव्यक्ति दिने बानीका कारण प्रधानमन्त्री ओली आफ्नो पदको गरिमा राख्न नसक्ने व्यक्तिका रुपमा पनि चित्रित हुँदै गएका छन् । उनका भाषण कुनै कमेडी कार्यक्रममा मनोज गजुरेलले आम जनतालाई मनोरञ्जन दिनका लागि कुनै घटनासँग आफ्ना काल्पनिक भनाइ राखेर बोले जस्ता लाग्छन् । हाम्रा प्रधानमन्त्री ओलीलाई सबै कुरामा ज्ञान भएको देख्दा खुशी पनि लाग्छ । तर कुनै पनि विषयवस्तुप्रतिको अल्पज्ञान घातक हुन्छ । अहिले प्रधानमन्त्री ओलीको हकमा पनि त्यही भएको छ । प्रधानमन्त्री ओलीले हल्का रुपमा गरेको टिप्पणीले नेपाल भारत दुवैतर्फ हलचल ल्याइदिएको छ । साथमा अनावश्यक बहस र विवाद पनि । लामो समयसम्म भारतीय पक्षको कब्जामा रहेको भूमि नेपालको नक्सा र संवैधानिक अंग बनिसक्दा पनि वार्ताको माहोल बन्न सकेको छैन । यस्तो समयमा ओलीबाट आएका एकपछि अर्को विवादाष्पद अभिव्यक्तिले नेपाल भारत बीचको सदियौँदेखि चल्दै आएको सम्वन्धमा खलल पुगेको छ । नेपाली भूमि फिर्ता नआउँदासम्म थप संवेदनशील बन्नु पर्नेमा प्रधानमन्त्रीबाट झन झन हल्का अभिव्यक्ति आउँदा कालान्तरमा नेपाललाई नोक्सान त हुने होइन भन्ने चिन्ता पनि बढ्दो छ ।

प्रधानमन्त्री ओलीले केहि सयम अगाडि संसदमा बोल्दै चिनियाँ भन्दा भारतीय कोरोना भाइरस कडा भएको अभिव्यक्ति दिएका थिए । साथै भारतीय राष्ट्रिय चिन्हमा ‘सत्यमेव जयते’ छ कि ‘सिंह मेव जयते’ छ भन्दै प्रश्न समेत गरेका थिए । उनका यस्ता अभिव्यक्तिले आम जनतालाई हल्का रमाइलो भए पनि नेपाल भारतबीचको कुटनीतिक सम्बन्धमा पक्कै पनि फाइदा पुर्याउने छैन ।

प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा र छिमेकी मुलुकसँगको सामाजिक सांस्कृतिक सम्बन्धलाई ख्याल नगरी अप्रमाणित कुरा बोलेको आरोप यतिबेला लागेको छ । प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि भारतको भारतीय जनता पार्टीले विरोध गरेको छ । त्यस्तै त्यहाँका सञ्चार माध्यममा फेरि एकपटक ओली समाचारमा हेडलाईनका पात्र बनेका छन् ।

भारत र नेपालबीच सांस्कृतिक सम्बन्ध जोड्ने एउटा सम्बन्ध सेतुको रुपमा राम र सीतालाई लिइन्छ । त्यसैले हरक वर्ष विवाह पञ्चमीको अवसरमा जनकपुरमा भारतबाट जन्ती लिएर आउने चलन छ । दुई वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अवसरमा सिधै जनकपुर आएका थिए । प्रधानमन्त्री ओलीले नै जनकपुर पुगेर मोदीको स्वागत गरेका थिए । त्यो बेलामा ओली र मोदीले सांस्कृतिक सम्बन्ध जोड्ने एउटा अवसरको रुपमा व्याख्या गरेका थिए । आफैँ त्यस्तै कार्यक्रममा सहभागी हुने र वर्षौँदेखि चलिरहेको यो प्रचलन थाहा पाउँदा पाउँदै ओलीले सोमबार अप्रमाणित कुरालाई तथ्य झैँ जस्तो गरी बोले यसले प्रधानमन्त्री स्वयं विवादको घेरामा परेका छन् । प्रधानमन्त्री ओलीले प्रमाणित कुरा बोल्ने र त्यस्ता कुराले विवाद निम्तिने गरेका यो पहिलो पटक भने होइन । यसअघि पनि ओलीको बेलगाम बोलीले विवाद सिर्जना गर्ने गरेको छ । यसै महिनाको सुरुमा प्रधानमन्त्री ओलीले दिएको ‘सरकार ढाल्न भारतीयको चलखेल भएको छ’ भन्ने अभिव्यक्ति पनि त्यस्तै विवादमा परेको थियो ।

प्रधानमन्त्रीको पदमा बसेर ओलीले आफ्नै सरकार ढाल्न भारतको भूमिका रहेको राजदूतहरु चलखेल गरिरहेको, होटलमा भेटघाट गरेको दावी गरे । तर, कहाँ कसरी चलखेल भयो त्यसको कुनै प्रमाणित तथ्य छैन । उनले पनि त्यो तथ्य सार्वजनिक गरेनन् । जसका कारण ओलीले पदमा बसेर यस्तो कुरा गर्न पदीय मर्यादा अनुकुल हुने कि नहुने भन्ने विवाद सिर्जना भयो ।

ओलीको यो अभिव्यक्तिको आधिकारिकता र प्रमाणिकताका लागि उनकै दल नेकपाका नेताहरुले चुनौति दिए । स्थायी समितिको बैठकमा भारतले कहाँ, कसरी हस्तक्षेप गर्यो भन्ने विषयमा नेकपाकै नेताहरुले ओलीसँग जवाफ मागेका थिए । पार्टी भित्रैबाट खोजी हुँदा पनि ओलीले जवाफ दिन सकेनन् । यो अभिव्यक्तिका कारण सिर्जित विवाद मत्थर नहुँदै ओलीले अर्को अप्रमाणित विषयमा फेरि विवादित अभिव्यक्ति दिएका छन् ।

केहि समय पहिले संसद बैठकमा नेपाली जनताको रोगप्रतिरोधी क्षमता अदभूद् छ भन्ने प्रधानमन्त्री ओलीको भनाइलाई कोट्याउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले भनेका थिए–‘हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै कुरा थाहा छ । तर मलाई थाहा छैन भन्ने मात्रै थाहा छैन ।’

अहिलेको उनको अभिव्यक्तिलाई हेर्दा अयोध्याका बारेमा थाहा नभएको भए नै विवादमा तानिने थिएनन् कि ?

Logo