गण्डकी प्रदेश : लगानी भित्र्याउन तयार छौँ -मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रवासी लगानी भित्र्याउन तयार रहेको बताएका छन् । गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा गण्डकी प्रदेश सरकार र गैरआवासीय नेपाली सङ्घबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा गैरआवासीय नेपालीले लगानी गर्न चाहेमा वातावरण तयार गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले गण्डकी प्रदेशको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानीको सम्भाव्यता अध्ययन गरेर लगानी गर्न सकिने बताए । जनशक्तिको योजनाबद्ध विकास गरेर पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको औंल्याए। उनले भने, “हामी विकासप्रति प्रतिबद्ध छौँ, विकासलाई कसरी अगाडि लैजाने भन्ने वैज्ञानिक सोच पनि छ तर विधि प्रक्रियाबाट अघि बढ्दा ढिला भएको छ । आउनुस् सहकार्य गरौं र विकासका लागि अघि बढौँ ।” गैरआवासीय नेपालीले देशको विकास र सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ गैरआवासीय नेपाली सङ्घले गण्डकी प्रदेशमा लगानीका अवसरका लागि देखाएको चासोप्रति खुशी व्यक्त गर्दै दीर्घकालीन विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेशका योजना र निजी क्षेत्रलाई लगानीका अवसरका बारेमा प्रस्तुतीकरण राखेका थिए । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले भौतिक शरीर जहाँ भए पनि मुलुकको समृद्धि गैरआवसीय नेपालीको एकमात्र चाहना रहेको बताए । नेपालमा गैरआवासीय नेपाली सङ्घले पु¥याएको योगदानको समीक्षात्मक प्रस्तुति राख्दै उनले आर्थिक विकासबाट मात्र मुलुक समृद्धि हासिल हुने भएकाले मुलुकको आर्थिक विकासका लागि सङ्घ सधैँ तयार रहेको बताए ।

उनले जलविद्युत्, पर्यटन, कृषि, साहसिक खेल, शिक्षा, स्वास्थ्य, होटल लगायतका क्षेत्रमा लगानी गरेको बताए । एनआरएन सदस्यको पूँजी, ज्ञान र सीपलाई नेपालमा लगानी गर्न तयार रहेको भन्दै प्रवासमा रहेर पनि नेपाली पहिचानको रक्षा गरेको उनको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपालमा जन्मेका नागरिकले नेपालमा लगानी गरेनन् भने विदेशी आएर नगर्ने भन्दै आफूहरु लगानीका लागि तयार रहेको बताए । कुन क्षेत्रमा कस्तो लगानी गर्न सकिन्छ त्यसको सम्भाव्यता अध्ययन गरेर सामूहिक लगानी भित्र्याउन आफूहरु तयार रहेको उनको भनाइ थियो । उनले प्राथमिकताका आधारमा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर लगानी भित्र्याउने बताए । अध्यक्ष पन्तले ५० करोडको लाप्राक बस्ती निर्माणको परियोजना अन्तिम चरणमा रहेकोसमेत जानकारी दिए ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष मन केसी (अष्टेलिया), टेकराज ज्ञवाली (रशिया), महिला उपाध्यक्ष रविना थापा, सोनम लामा, श्रीराम कँडेल, पासाङ लामा लगायतले नेपालमा लगानीसँगै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न तयार रहेको बताए । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, नेकपा सचेतक मायानाथ अधिकारी, प्रतिपक्ष दलका नेता मणिभद्र शर्मा कँडेललगायतले विदेशमा रहेर नेपालप्रतिको चिन्तन सकारात्मक रहेको भन्दै भूगोल र वातावरण सुहाउँदो विकासमा जोड दिनुपर्ने बताए ।
रासस

प्रकाशित: ७ माघ २०७६ ०६:४६ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी