कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च

कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च


काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।

प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।

देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ ।

Logo