आपत्कालीन उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्छः मन्त्री बस्नेत

आपत्कालीन उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्छः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्वस्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा  आजदेखि सुरु भएको आपत्कालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उनले देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको सङ्क्रमण पनि बढ्ने खतरा रहेकाले सबै स्वास्थ्य संस्थाले आवश्यक औषधि र उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। 
     
मन्त्री बस्नेतले भने,“आपत्काल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन। हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ। त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्याैँ भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन।” 

आपत्कालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रमा खाद्यान र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए।   
        
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपत्कालीन अवस्थामा  उपचारका लागि देशका २५ अस्पताललाई ‘हब अस्पताल’ बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले भने, कुनै ठाउँमा सङ्कट आइपर्दा सबै एक ठाउँमा आएर सङ्कट व्यवस्थापन गर्न सक्षम छौँ।”
     
सातवटै प्रदेशमा आपत्कालीन सेवाकेन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा.सिंहले बताए। विश्वस्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले आपत्कालीन अवस्थामा  उपचार सेवा नरोकियोस् भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिए। 

Logo