लामो समयपछि दुई अध्यक्षको एउटै स्वर : के नेकपा विवाद साम्य भएकै हो ?

लामो समयपछि दुई अध्यक्षको एउटै स्वर : के नेकपा विवाद साम्य भएकै हो ?


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि चलिरहेको विवाद यतिबेला साम्य भएको छनक अ‌ाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरैपछि पार्टी एकता सफल पारेरै छाड्ने अभिव्यक्ति दिएसँगै त्यस्तो छनक अ‌ाएकाे हो ।

गत बुधबारसम्म (वान टु वान) वार्तामा टस्काे मस नभएका दुई पक्ष बिहीबारदेखि भने पार्टीभित्रको विवादलाई सहमतिमा समाधान गर्ने अभिव्यक्ति दिएका छन् । दुई अध्यक्षको धेरै पछि एउटै स्वर आउनुमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता, दुई अध्यक्षबीचको भद्र सहमति, पार्टीभित्रका दोस्रो पुस्ताका नेताहरुको सक्रियता वा जनदबाबमध्ये कुन तत्वले काम गर्यो समयक्रममा बाहिर आउँला नै । तर अहिले नेकपाको विवाद साम्य भयो भनेर भन्नु कुनै हतारो नहाेला ।

गत असार १० देखि नेकपा स्थायी कमिटीकाे बैठक जारी छ । १३ गतेसम्म तीन पटक बसेको बैठक सौहार्दपूर्ण रुपमा नै अगाडि बढेको थियो । तर १४ गते ६९ औँ मदन जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले नेकपाभित्र सुषुप्त अवस्थामा रहेको विवादले विष्फोटक रुप लिएको थियो । उनले लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग आफूले समावेश गरेकाले भारतीय राज्य संयन्त्र प्रधानमन्त्रीबाट आफूलाई हटाउन लागि परेको अभिव्यक्ति दिएका थिए । साथै उनले आफ्नै पार्टीबाट भारतीय राज्य संयन्त्रलाई सहयोग रहेको आरोप समेत लगाएका थिए । सोही अभिव्यक्तिलाई लिएर स्थायी कमिटीको जारी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

अवस्था यतिसम्म भयावह भयो कि ४५ जना रहेको स्थायी कमिटीमा ३० भन्दा बढी सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखे । तर प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद अंकगणितले भन्दा सहमतिले हल गर्नुपर्ने अडान राखिरहे । प्रचण्डले भने माधवकुमार नेपाल पक्षको दह्रो साथ लिएर ओलीलाई भित्तामा नै पुर्याउने अभियानमा तल्लीन रहिरहे । दुई पक्षको बुधबारसम्म चलेको (वार कि पार) को जुहारी बिहीबारदेखि एका एक नाटकीय रुपमा परिवर्तन भएको छ । बिहीबार (वान टु वान) वार्तामा बस्ने सहमति तय भएपनि दुई अध्यक्षबीच भौतिक वार्ता भने हुन सकेन । तर टेलिफोन सम्वाद भएको र उक्त सम्वाद सकारात्मक रुपमा अगाडि बढेका विवरणहरु सार्वजनिक भएका थिए ।

आफूलाई अप्ठ्यारो पार्ने कुनै पनि कदम दाहाल पक्षले चाले पार्टी फुटाउन तयार भएका प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्वाेधन गर्दै पार्टीभित्रको विवादलाई स्वाभाविक मान्दै छलफलबाट निकास निस्कने बताए । यसका लागि केही समय लाग्ने उनको भनाइ थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए–‘अहिले कतिपय राजनीतिक विषय–सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्छ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविक हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु अन्यथा पनि होइन । जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याइनेछ । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

प्रधानमन्त्री ओलीको सम्वोधन आएको अर्कोदिन गृहजिल्ला चितवन पुगेका दाहालले हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको अभिव्यक्ति दिए । साथै, उनले पार्टी फुट्दैन भन्ने स्पष्ट सन्देश समेत दिए । प्रचण्डले गृहजिल्ला चितवनका जनतालाई साक्षी राख्दै भने–‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं । देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छु । मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ । कुनै न कुनै समझदारी, सहमतिबाट हल निस्कन्छ । पछिल्लो पटक अर्का अध्यक्षसँग भएका कुराहरुको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’

त्यस्तैगरी नेकपाको विवाद साम्य भएको संकेत नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि दिएका छन् । मुख्यमन्त्री पोखरेल ओलीपक्षबाट नेकपा विवादले ठूलो दुर्घटना ननिम्त्यायोस् भनेर अहोरात्र खटिएका पात्र हुन् । उनले शुक्रबार फेसबुक स्टाटस लेख्दै नेकपा विवाद साम्य भएको स्पष्ट पारेका छन् । ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा सबैको सकारात्मक साथ रहने विश्वास सहित म बुटवल फर्किएको छु’–उनले फेसबुकमा लेखेका छन्–‘जुलुस र वादप्रतिवादका सबैखाले गतिविधि स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौँ । बेमाैसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।’

कुनै बेला एक अर्काको छायाँले समेत तर्साउने अवस्थामा पुगेका ओली प्रचण्ड अहिले भने शरिर दुई भए पनि आत्मा र टाउको एउटै भएको सन्देश दिएका छन् । त्यसैले नेकपाको विवाद तत्कालका लागि साम्य भयो भन्न कुनै कठिनाई छैन ।

 

Logo