पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन


काठमाडौं ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो । दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए ।

सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उनले बताए । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । बबरमहलमा भएको प्रदर्शनमा सहभागिहरुले ‘जनता मार्न पाईदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौ’, सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए ।

Logo