हनुमानढोका परिसरमा गरिएको सवारीसाधन निषेधको सर्वसाधारणद्वारा स्वागत

हनुमानढोका परिसरमा गरिएको सवारीसाधन निषेधको सर्वसाधारणद्वारा स्वागत


काठमाडौंको चिनारी नै प्राचीन सम्पदाहरु भएकाले तिनको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । 

यस क्षेत्रमा हरेक दिन सयौं स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । तर सवारी साधनको उपस्थितिले यस क्षेत्रमाथप प्रदूषण फैलाएको भन्दै सवारी साधनमा महानगरपालिकाले रोक लगाएपछि यो कदमको सर्वत्र स्वागत गरिएको छ । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँदिनमा सयौं पर्यटकहरु आउजाउ गर्ने गर्छन् । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक भएको महानगरको ठहर छ । 

काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह बालेनले फेसबुकमा लेखेका छन्- ‘काठमाडौँ मुख्य रुपमा प्राचीन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौँको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अंगाल्न सक्ने भनेकै यी नै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।’ 

के भन्छन त सर्वसाधारण 

अनुका ढकाल 
हामी पर्यटकहरु आउँदा घुम्ने क्रममा याद हुन्नँ, यताउता गाडी आएको, अहिले यस्तो व्यवस्थित देख्दा निकै नै राम्रो लाग्यो । सबै ठाउँ सुरक्षित र खुल्ला छ । राम्रो छ ।

बाबुकाजी महर्जन 
यो सराहनीय काम हो निकै नै राम्रो छ । स्थानीयको लागि अलि व्यवस्था गर्नुपर्छ । पासहरु दिएर व्यवस्थित गर्नुपर्छ । मान्छे हिँड्न गाह्रो हुन्थ्यो अहिले खुल्ला भएको छ ।

कमला ताम्राकार 
पर्यटन क्षेत्र हो यहाँ यो कार्य गर्नु भनेको राम्रो हो तर पर्यटकको र स्थानीयको  लागि भने केही व्यवस्था गर्नुपर्छ । 

रामेश्वर श्रेष्ठ
यो काम सराहनीय छ । यसमा गाडीहरु गुडाएर यहाँको सम्पदामा पुगेको असर कम हुन्छ । यो राम्रो काम हो ।
 

Logo