सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह


काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताए । “आगामी सोमबारसम्म प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ”, मौसमविद् पोखरेलले भने ।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गली सकेको र केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६.७ मिलिमिटर वर्षा भएको छ ।रासस

Logo