कृष्णलाल, गंगालाल र पुष्पलालको स्मृतिमा रामेछापमा बनाइयो ‘तीनलाल पार्क’

कृष्णलाल, गंगालाल र पुष्पलालको स्मृतिमा रामेछापमा बनाइयो ‘तीनलाल पार्क’


रामेछाप सदरमुकाम मन्थलीमा रामेछापको पहिचान र देशकै गौरव एवं ऐतिहासिक व्यक्तित्वहरु तीन लालको स्मृतिमा तीनलाल पर्यटन पार्क बनेको छ । मकैको खेतीका लेखक एवं नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, अमर शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पार्क निर्माण गरिएको हो ।

रामेछापमा जन्मिएका यिनै तीन लालको कारण रामेछापलाई तीनलालको जिल्ला समेत भनेर चिनिन्छ । तीन लाल मध्ये कृष्णलालको जन्म रामेछापको कठजोरमा भएको थियो । एकै आमाका सन्तानको रूपमा गङ्गालाल र पुष्पलालको जन्म भँगेरीमा भएको थियो ।  

उनीहरूको स्मृतिमा मन्थलीका गढवारीमा तीनलाल पार्क बनाइएको हो । कैलाश ढुङ्गेल नेतृत्वको जिल्ला विकास समिति बनेको बेला गढवारीमा तीनलालको शालिक राखिएको थियो । तीनलालको शालिक भएको स्थानमा अहिले पार्क निर्माण गरिएको छ । 

मन्थली नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको सो पार्क ६ करोड ८६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । 

संघीय सरकार र मन्थली नगरपालिकाको संयुक्त लगानीमा पार्क निर्माण भएको मन्थली नगरपालिकाका वरिष्ठ इञ्जिनियर डिल्ली अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सो पार्क निर्माणका लागि १० करोड रुपैँया बजेट स्वीकृत भएको थियो । पाँच पोखरी सुवेदी जेभी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैँयामा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।  

कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४ सय ८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि एक सय जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष समेत रहेका छन् । त्यस्तै क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा सहितको पार्क बनेको छ ।  

पार्कका केही संरचना बनेका भए पनि अझै धेरै काम गर्न बाँकी रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । उद्यान, आवास भवन लगायतका अन्य संरचना बनाएर पार्कलाई व्यावसायिक थलोको रूपमा विकास गर्ने श्रेष्ठले योजना सुनाए ।

उनले भने, ‘अहिले जे जति बनेको छ सञ्चालन हुँदै जान्छ, थप संरचना निर्माण र व्यवस्थापनको काम अझै गर्नु पर्ने छ ।’

नगरपालिकाले निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि पार्क सञ्चालनमा ल्याएको छ । पार्कमा प्रवेश शूल्क २५ रुपैँया तोकिएको छ । भारतीय नागरिकलाई प्रवेश शुल््क १ सय रुपैँया र अन्य मुलुकका लागि २ सय रुपैँया तोकिएको छ । 

त्यस्तै पौडी खेल्नेका लागि अलग्गै शुल्क तोकिएको छ । पौडीको लागि बालबालिकालाई ७५ रुपैँया र वयस्कका लागि १ सय ५० रुपैँया तोकिएको छ । पौडी खेल्न भारतीय बालबालिकाले ३ सय र वयस्कले ५ सय रुपैँया तिर्नु पर्ने छ । भारत बाहेकका मुलुकका बालबालिकाको लागि ५ सय र वयस्कका लागि १ हजार रुपैँया शुल्क तोकिएको छ ।

Logo