२० मंसिर २०७८ सोमबार

0 Shares

हिमपहिरोमा हराएका पदयात्रीका सामान मात्र भेटिए

पोखरा ।

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परी हराएका चारजना विदेशी र तीनजना नेपाली पदयात्री अझै बेपत्ता छन् । बेपत्ता रहेका पदयात्री फेला नपरे पनि उनीहरूका केही व्यक्तिगत सामान भने खोजिकर्ताले फेला पारेका छन्।

अहिलेसम्म घटनास्थलबाट महिलाले घाटीमा लगाउने माला (नेकलेस), टोपी र स्लिपिङ ब्याग भेटिएका छन् । भेटिएका ती सामान कसका हुन् भन्नेबारे अझै यकिन भएको छैन । केही दिनअघि गएको आफन्तको टिमले टोपी र स्लिपिङ ब्याग फेला पारेको थियो भने शनिबार गएर खोजीमा जुटेको समूहले भने माला फेला पारेको पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

‘हिमपहिरोमा हराएका पदयात्री खोज्न एउटा टोली गएको थियो। त्यही टोलीले खोज्ने क्रममा आइतबार माला भेटेको छ,’ उनले भने, ‘यसअघि नै टोपी र स्लिपिङ ब्याग फेला परेको थियो।’ व्यक्तिगत सामान भेटिएपछि पुरिएका भनिएका पदयात्री भेट्ने आशा जागे पनि बाक्लो हिउँ जमेकाले फेला पार्न मुस्किल रहेको उनले सुनाए। उनका अनुसार खोजीका लागि टानका केही पदाधिकारीसहितको टोली गत शनिबार घटनास्थल पुगेको भए पनि सम्भव नभएपछि सोमबार फर्किएको अध्यक्ष भुजेलले बताए।

संखुवासभाको किमाथांका क्षेत्रबाट पर्यटन क्षेत्रमा लागेको टोली खोज तथा उद्धारका उपकरण र सामग्री लिएर गत शनिबार घटनास्थल पुगेको थियो । संखुवासभाको भोटखोला गाउँपालिकाबाट काठमाडौंको कपनमा बसी पर्यटन व्यवसायमा संलग्न २४ जना खोजीकर्ता हिमपहिरोस्थलमा पुगेका थिए। टिमको नेतृत्व गरेका दावा फिन्जो लामा भोटेका अनुसार हराएका पदयात्री तत्काल भेट्ने सम्भावना नभएपछि सोमबार टोली पोखरा फर्केको हो।
नागरिकबाट

प्रकाशित: २८ माघ २०७६ ०९:४२ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी