आरडिटी स्थगित गरी पिसिआर विधि मात्र प्रयोग गर्ने मन्त्रालय र सत्याग्रही युवाबीच सहमति

आरडिटी स्थगित गरी पिसिआर विधि मात्र प्रयोग गर्ने मन्त्रालय र सत्याग्रही युवाबीच सहमति


काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल, सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोड्ने छन् । सहमति अनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधि मात्र प्रयोग गरिनेछ ।

विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएको जस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनु पर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुनेछ ।

सहमति अनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छा अनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला र आदेश बमोजिम परीक्षण तथा क्वारेन्टाइन लगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।रासस

Logo