प्रतिकूल मौसमले नेपालबाट हराउँदै सलह

प्रतिकूल मौसमले नेपालबाट हराउँदै सलह


काठमाडौं ।

एक साता अघिदेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गाह्रो हुने भन्दै चिन्ता बढाउने सलह हराउँदै गएका छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

‘सलह चिसो ठाउँमा बाँच्न सक्दैन । २२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उत्तर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’ कालीकोट, मुस्ताङ लगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएको हुमागाईंले बताए । केन्द्रका अनुसार १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगै छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ ।

सलह प्रायः गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । नेपालमा मनसुन सक्रिय हुँदा प्रायः क्षेत्रमा पानी परिरहेको छ । चिसोका कारण सलह पनि जंगलमा छ । कीराको आयु पनि एक डेढ महिनाको हुन्छ । वातावरण अनुकूल नभएपछि त्यसको आयु झन् घट्दै जाने केन्द्रले जनाएको छ ।

‘असार १३ गते नेपाल प्रवेश गरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो,’ प्राविधिक समितिका संयोजकसमेत रहेका हुमागाईंले भने, ‘अहिले संख्या धेरै घटेको छ । दुई–तीन दिन यता सलह उडेको देखिएको छैन । कृषि बालीमा क्षति भएको छैन ।’

केन्द्रका अनुसार सलह स–साना समूहमा तितरवितर भएका छन् । केही समूह उत्तरतर्फ लागेका छन् । केही ठाउँमा भेटिएको सलह पनि कमजोर अवस्थामा रहेको केन्द्रको दाबी छ। अहिलेको अवस्थामा त्यति डराउनु नपर्ने केन्द्रले जनाएको छ।कान्तिपुरबाट

Logo