आन्तरिक विवाद मिलाउन खाका तयार गर्दै नेकपा

आन्तरिक विवाद मिलाउन खाका तयार गर्दै नेकपा


काठमाडौं ।

शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो ।

कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ । नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगन भएको जानकारी दिए। कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँचबुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ ।

नेकपामा विवाद बढेपछि असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी आजका लागि तोकिएको थियो । अध्यक्षद्वयबीच असार १९ गते पनि छलफल भएको थियो ।असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र विघटित नेकपा (एमाले) नामकै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।

यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषयमा पनि नेताहरुबीच फरक फरक मत रहेको छ । संसद् नभएका स्थितिमा राजनीतिक दल सम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन्।

असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट (सम्झौता) लगायत कार्यसूची छन् ।

दोस्रो तहका नेताहरुले जनादेश अनुसार अस्थिरता ल्याउने र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दवाव दिँदै आएका छन् । कतिपय प्रदेश र जिल्ला तहबाट पार्टी नेतृत्वलाई पार्टी एकताका लागि लिखित सुझाव पठाइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।रासस

Logo