कपनको खहरे खोलामा काठमाडौं महानगरले चलायाे डोजर

कपनको खहरे खोलामा काठमाडौं महानगरले चलायाे डोजर


काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । बुढानिलकण्ठ नगरपालिका -१० र काठमाडौं महानगरपालिका -७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरिएको हो । 

काठमाडौं महानगरले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि विवाद सुरु भएको थियो । बुधबार स्ल्याब हटाउन कपनको साततले पुगेको महानगरको नगरप्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको थिएन । 

बुधबार काठमाडौं महानगरका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउनेबारे छलफल भएकाे थियो । तर, शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सासहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।

धोबीखोलादेखि साततल्ले सम्मको बुनपा १० र कामनपा ७ को सिमा भागमा नापजाँच भई वाल लगाई सकिएकाले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाईप निकाल्ने सहमति भएको छ । साथै आवागमन गर्ने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो ,साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार महानगरले बेलिब्रीज (पुल निर्माण) गर्नुपर्नेछ । साथै साततल्ले चोकदेखि माथि बुनपा १०, १२ र कामनपा ६ मा दुबै तर्फका जग्गाधनीको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खहरे भाग रेखांकन गरि छुट्याउने सहमति भएकाे छ ।

त्यस्तै, नापजाँचबाट सिमा एकिन गरि खहरे भाग समेत छुट्याएपछि, दिर्घकालिन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो ब्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाअध्यक्षहरुको लिखित सहमतिमा दोश्रो चरणको काम सुरु गर्ने सहमति पनि भएकाे छ । 

Logo