नेपाल र हिमालयन एयरलाइन्समार्फत कतारबाट २९९ नेपाली आज स्वदेश फर्किए

नेपाल र हिमालयन एयरलाइन्समार्फत कतारबाट २९९ नेपाली आज स्वदेश फर्किए


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने सरकारको निर्णय बमोजिम कतारबाट पहिलो चरण अन्तर्गत छैटौँ र सातौँ उडानको स्थलगत समाचार सङ्कलनका लागी गए राति कतारको हमाद एयरपोर्ट पुग्दा माहौल पहिलेको भन्दा फरक देखिएको थियो। नेपाल तथा हिमालयन एयरलाइन्सले सँगसँगै उडान गर्ने भए पछि यात्रुको चाप निकै थियो । एयरलाइन्सका आआफ्ना काउन्टरबाट बोर्डिङ भईरहेका थिए ।

यात्रीहरूलाई बिदाइ गर्न नेपाली राजदूतावासका तर्फबाट द्वित्तिय सचिव प्रवीण भट्टराई, तृतीय सचिव मनीषा शर्मा तथा लेखा अधिकृत अनु खनाल विमानस्थल पुगेका थिए भने एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो. रमजान अलि मिया लगायतका व्यक्तिहरू पनि थिए । उनीहरू यात्रीहरूसँग विविध विषयमा ज्ञानमूलक जानकारी आदान प्रदान गरी रहेका थिए ।

कतारबाट पहिलो चरण अन्तर्गत नेपाल एयरलाइन्सको चौथो तथा हिमालय एयरलाइन्सको तेस्रो उडान हो । उक्त उडानमा हिमालयन एयरलाइन्सले ६ जना महिला तथा १४८ पुरुषसहित १५४ जना तथा नेपाल एयरलाइन्सले २ महिला र १४३ जना पुरुष सहित १४५ जना लिएर उडान भरेको छ । केही समय पहिले क्वारेन्टाईनमा आत्महत्या गरेका नवलपुरका किरण बहादुर सुनारको शव समेत पठाइएको जानकारी नियोगका द्वित्तिय सचिव भट्टराईले दिएका छन् ।

बिशेष प्रतीक्षा थियो मोरङ जिल्ला स्थायी घर भई वैदेशिक रोजगारीका लागि कतार आएको ७ महिनामै कोरानाका कारण जटिल समस्यामा परेकी मञ्जु बिस्टको । उनले केही समय पहिले एनआरएन कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ समक्ष आफ्नो उद्दारको याचना गरेकी थिइन । दुवै उडानमा पीडितहरू नै थिए यद्यपि विष्ट विशेष पीडित थिइन् । उनी कतार आएको २ महिनामै कोरोनाका कारण रोजगारी गुमाएर समस्यामा परेकी थिइन् । गुरुङको समन्वयमा बिस्टलाई नगद आर्थिक संकलन गरी टिकट र नगद सहयोगसहित हिमालयन एयरलाइन्सबाट नेपाल पठाउन लागिएको थियो । एयरपोर्टमा उनी भाव विह्वल देखिइन् । बोल्न सक्ने र दुःख साटन सक्ने अवस्थामा थिईनन् । अब ज्यान नेपाल पुग्ने आशा दह्रो भएर आएको छ सपना मरुन् तर प्राण आफ्नै देश पुग्ने भो खुसीको सीमा छैन, विष्टले मलिन स्वरमा जीवनका झिना आशा साट्दै छेउकै सानो लगेज अगाडि बढाइन् ।

९ महिनादेखि कतारमा कष्टकर जीवन बिताएका सल्यानका जनक धर्तिले सपना कतारमा मरे पनि प्राण लिएर स्वदेश जान पाउँदा खुसी लागेको बताए । सानो ट्रलि ब्याग गुडाउँदै घर्तीले बाँकी जीवन भैंसीलाई घाँस काटेर गाउँमा बिताउने तर विदेश नपस्ने सङ्कल्प गर्दै कतारको ३ बर्से बसाइलाई टुङ्गाएर बिदा भए । कतारबाट आजसहित कुल १ हजार ३३० यात्रुहरूले उडान भरेका छन् भने ३२ वटा शव नेपाल पठाइएको पुष्टि भट्टराईले गरेका छन् ।

Skip This
Logo