प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गत बुधबार त्रिवि शिक्षण अस्पतालमा सफल प्रत्यारोपण गरिएको छ ।
प्रधानमन्त्री ओलीले १३ वर्ष अगाडि भारतको अपोलो हस्पिटलमा पहिलो प्रत्यारोपण गरेका थिए । प्रत्यारोपि मिर्गौलाले काम गर्न छोडेपछि दोस्रो पटक नेपालमै गरिएको हो । मिर्गौलाको सफल प्रत्यारोपण गरेपछि के कस्ता चुनौतिहरु देखिन सक्छन् ? यस विषयमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. सुमित आचार्यसँग केन्द्रबिन्दुका सराेज बस्यालले पाँच प्रश्न गरेका छन् ।
मिर्गौला प्रत्यारोपण कसरी गर्न सकिन्छ ?
मिर्गौला लिने र दिने दुवै जनाको स्वास्थ्य अवस्थाको राम्ररी जाँच गरी ब्लड ग्रुपदेखि सवै शारीरिक अवस्था उपयुक्त भएमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
प्रत्यारोपण सफल भएपछि पनि केही जोखिम हुन्छ ?
शल्यक्रिया सफल भएपछि पनि जोखिम देखिन सक्छ । शल्यक्रियापछि मिर्गौला लिने र दिने दुवैमा तत्कालिन र दीर्घकालिन जोखिमहरु देखिन सक्छन् । तत्कालिन जोखिममा संक्रमण हुनेदेखि रगत बग्ने जस्ता समस्या देखिन सक्छन् । दीर्घकालिन जोखिममा सल्यक्रिया सफल भएपछि प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरे पनि विस्तारै काम गर्न छोड्न सक्छ ।
ती जोखिम के के हुन ?
संक्रमण हुने, रगत बग्ने, एलर्जी हुने, छातीमा संक्रमण हुने जस्ता समस्या देखिन सक्छ । त्यस्तै पिसाब कम आउने, पिसाबमा संक्रमण हुने, रक्क्तचाप बढ्ने, पिसाब बढी हुने जस्ता समस्या पनि देखिन सक्छ ।
प्रत्यारोपण पछि किन पुरानो मिर्गौला हटाइँदैन् ?
पुरानो मिगौलाले टोलेरेन्स बनाएर राखेको हुन्छ । त्यसैले पुरानो मिर्गौलाई हटाइँदैन । नयाँ प्रत्यारोपित मिर्गौलाई काम गर्न सहज बनाउन पनि यसले सहयोग गर्छ । दुई वा दुई भन्दा बढी पटक मिर्गौला प्रत्यारोपण गर्दा ठाउँको अभाव हुन गएमा हटाउन पनि सकिन्छ ।
मिर्गौला दिने व्यक्तिको स्वास्थ्यमा कमजोरी देखिन्छ भन्ने मान्यता छ यो साँचो हो ?
यो मान्यता विल्कुलै गलत छ । हामीले मिर्गौला प्रत्यारोपण गर्ने समयमा नै दिने र लिने दुवै जनाको शारिरीक अवस्थाको जाँच गरेर मात्र प्रकृया अगाडि बढाउँछौ । यदि दिने व्यक्तिको शरिरले थेग्न नसक्ने अवस्था देखिएमा मिर्गौला दिन मिल्दैन भनेर सल्लाह दिन्छौ ।
हेरौं यो भिडियोमा :
प्रकाशित: २३ फागुन २०७६ १८:१२ शुक्रबार