भ्रष्टाचारी ठहरिएका रौतहटका मेयर यादवलाई तीन वर्ष कैद, १५ लाख जरिवाना

भ्रष्टाचारी ठहरिएका रौतहटका मेयर यादवलाई तीन वर्ष कैद, १५ लाख जरिवाना


भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ । 

विशेष अदालतले कसुर ठहर्याएपछि बुधवार उक्त सजाय सुनाएको हो । प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो । उनी स्थानीय निर्वाचनमा दोस्रो कार्यकालको लागि पनि चुनिएका थिए। 

उक्त प्रकरणमा आयोगले २१ जनालाई प्रतिवादी बनाएकोमा अदालतले प्रमुख यादवलाई मात्रै ठहर गरेको थियो । २०७९ असार १२ गते अख्तियारले मेयर यादव सहित तत्कालीन उपप्रमुख कान्ति देवी, वडा नम्बर १, २, ३, ५, ६, ८, ९, १० र ११ का वडाध्यक्ष, केही पूर्व वडाध्यक्ष, तत्कालीन नगर कार्यपालिका सदस्यहरूका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुङ्गेल र रञ्जना साह समेत गरी २१ जनालाई मुद्दा चलाइएको थियो । 

पालिका प्रमुख यादवले नियम विपरीत लाल बकैया नदिका ठेक्का रद्द गरेको अख्तियारको ठहर थियो । ठेक्का रद्द गर्दा विजयपुर र गुजरा दुवै नगरपालिकालाई आर्थिक नोक्सानी भएको भन्दै प्रतिवादीले क्रमशः ६० र ४० प्रतिशत रकम भराउन अभियोग पत्रमा माग राखेका थिए । 

लाल बकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सङ्कलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो । एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपियाँ बिगो दाबी गरिएको यस मुद्दामा विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले पालिका प्रमुख यादवलाई मात्र दोषी ठहरको फैसला सुनाएको थियो । 

Logo