काठमाडौँ, १ कार्तिक
सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लाका गरिब घरपरिवार सार्वजनिक गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्माण गरेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० मा आधारित पीटीएम विधिबाट गरिब पहिचान भएका घरपरिवारको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयले पहिलो चरणमा २५ वटा जिल्लामा गरिब घरपरिवार पहिचान गरेको थियो । गरिब घरपरिवार पहिचान गर्ने कार्यक्रम लागू भएका २५ जिल्लामा तीन लाख ९१ हजार आठ सय ३१ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ । कुल १२ लाख ४० हजार तीन सय ५० घरपरिवारको सर्वेक्षण गरिएको थियो । जस मध्ये एक लाख ८८ हजार दुई सय ३५ घरपरिवार अति गरिब रहेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डका सचिवालयका निर्देशक रामहरि गैरेले जानकारी दिए । त्यस्तै मध्यम गरिब घरपरिवारको संख्या १ लाख १९ हजार सात सय ४८ रहेको छ भने सामान्य गरिब घरपरिवारको संख्या ८३ हजार आठ सय ४८ रहेको उनले बताए ।
आर्थिक दैनिकबाट
प्रकाशित: १ कात्तिक २०७४ ०७:०६ बुधबार