1
0
Shares

समिट एअरले उडान नभर्दा सर्वसाधारण मर्कामा

1
1
1

दुनै, २ कात्तिक । दुर्गम डोल्पाको जुफाल विमानस्थलमा उडान भर्दै आएको समिट एअरले सहुलियत उडान नभरेपछि सर्वसाधारण मर्कामा परेका छन् । 

नेपालगञ्ज–डोल्पा, डोल्पा–नेपालगञ्ज उडान भर्दै आएका तारा, समिट र मकालु एअरले नेपालगञ्जदेखि डोल्पासम्म दुईतर्फी भाडा लिँदै आएकाले नेपालगञ्जदेखि डोल्पा जाने सर्वसाधारण मारमा परेका हुन् । तारा, समिट, मकालु एअरलाइन्सले नेपालगञ्जदेखि डोल्पासम्म प्रतियात्रु रु नौ हजारमा उडाउँदै आएका छन् । तर डोल्पा–नेपालगञ्जको भाडा रु तीन हजार ६०० लिने गरेका छन् । 

दुर्गमका जिल्लामा जहाजलाई रित्तै उडाउँदा घाटा लाग्ने भएकाले दुईतर्फी भाडा लिएर मात्र यात्रु चढाउने गरेका छन् । तर ती एअरलाइन्सले महँगो भाडाको मार कम गर्न हप्तामा एक दिन सहुलियत उडान भर्दै आएका जनाएका छन् । समिट एअरले दशैँ लगत्तै डोल्पामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको जनाएपनि तिहारका लागि भने त्यसो नगरेको ठूलीभेरी नगरपालिकाका स्थानीयवासी जीवन शाहीले बताए । 

समिट एअरलाइन्सको नेपालगञ्जस्थित स्टेसन प्रमुख दीपक शाह डोल्पामा पनि चाँडै सहुलियत उडान भर्ने तयारी भइरहेको बताउछन् । सो एअरलाइन्सले तीन–तीन महिनामा कार्यतालिका बनाउने गरेको छ । “अबको कार्यतालिकामा हामी डोल्पाका लागि पनि सहुलियत उडान राख्छौँ,” उनले भने । 

समिट एअरले जुम्ला, हुम्ला, मुगु लगायतका पश्चिमका जिल्लामा सहुलियत उडान भर्दै आएको छ । नेपालगञ्जदेखि तारा एअरले पश्चिमका जिल्लामा हप्तामा एक दिन सहुलियत उडान भर्दै आएको छ । जुफाल विमानस्थल स्तरोन्नति कार्यको नब्बे प्रतिशत काम सम्पन्न भएपछि गत भदौ २३ गते परीक्षण उडानका रुपमा समिट एअरले डोल्पा उडान भरेको थियो । रासस

प्रकाशित: २ कात्तिक २०७४ १५:५० बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी