1
0
Shares

नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन सक्दैनः प्रधानमन्त्री

1
1
1

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोभिड –१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको स्पष्ट गरे ।

प्रधानमन्त्री निवासमा शनिबार साँझ सञ्चारकर्मीसँगको अन्तर्वार्तामा उनले भने, “नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ ।”

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिए । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै विषयमा गरेको आग्रह तथा आगामी मे ५ (वैशाख २३) मा असंलग्न मुुलुकहरुको सङ्गठन( नाम) ले चाल्ने कदमको समर्थन गर्दै साझा शत्रुविरुद्ध एक हुन विश्वसमुदायलाई आह्वान गरे ।

कोरोना नियन्त्रणसँगै लकडाउन खुकुलो पारिने मात्र नभई अन्त्य गरिने स्पष्ट गर्दै उनले कोरोना अन्त्य सुनिश्चित हुनका लागि कडाइका साथ लागिने दृढता व्यक्त गरे । “विश्वमा करीब डेढ लाख मानिस बितेका छन्, बीसौँ लाख सङ्क्रमित छन् । यस्तो स्थिति हामी नेपालमा नआओस् भन्नाका लागि हाल कोरोना नियन्त्रणसँगै लकडाउन कायम नै गर्छौँ”, उनले भने ।

कोरोनाविरुद्धको साझा लडाइँमा मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, कोरोना क्राइसिस म्यानेजमेण्ट सेण्टर जस्तै सबै निकायलगायत सबैको जिम्मेवारी र भूमिका उत्तिकै रहने बताउँदै उनले यसको अन्त्यमा लाग्ने सबै व्यक्ति र निकायलाई फुटबल प्रतियोगितामा सबैको उत्तिकै भूमिका हुने फुटबल खेलाडीसँग तुलना गरे ।रासस

प्रकाशित: ७ बैशाख २०७७ ०६:५८ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी