कस्ताे रहला आगामी साताको मौसम ?

कस्ताे रहला आगामी साताको मौसम ?


नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ । 
     
“पहाडी भूभागहरुमा बदलीको अवस्था रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, वर्षाको सम्भावना कमै रहेको छ । तराईको भूभागको हुस्सु तराईको पश्चिम भेगबाट हट्दै गएको छ । ठूलो वर्षा गराउने मौसमी प्रणाली छैन”, मौसमविद् मानन्धरले भने । 

तराईतिर हुस्सु कुहिरो लागेकाबेला चिसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने उनले उल्लेख गरे । मौसमविद् मानन्धरले यो महिना बढी चिसोको समय भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरे ।
     
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

Logo