१४ माघ २०७८ शुक्रबार

मानव अधिकार आयोगद्वारा एघार भाषामा सचेतनामूलक सन्देश प्रसारण

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको अवस्थामा नागरिकको कर्तव्य र मानव अधिकारको सम्बन्धमा सचेतना अभिवृद्धि गराउने उद्देश्यले सातवटै प्रदेशका एफएम रेडियोबाट ११ भाषामा सचेतनामूलक सन्देश प्रसारण गरिरहेको छ । नेपालीसहित मगर, चाम्लिङ, शेर्पा, अवधि, भोजपुरी, मैथिली, थारु, डोटेल, अछामी र नेवारी गरी ११ वटा भाषामा आयोगबाट सचेतनामूलक सन्देश प्रसारण भइरहेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समितिले कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न सरकारबाट भइरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा केन्द्रित भई अनुगमन गरिरहेको छ ।

आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समिति, आयोगका निर्देशक यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा केन्द्रस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति, आयोगका प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा प्रदेशस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । यसैगरी नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालका जिल्लाका अध्यक्षमध्येबाट संयोजक रहने गरी ७७ वटै जिल्लाहरुमा जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिहरु गठन भई कार्य शुरु भइसकेको आयोगले जनाएको छ ।रासस

प्रकाशित: १८ बैशाख २०७७ ०८:३७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी