रुपन्देही हत्याकाण्ड : मृत्तकको पहिचान खुल्यो, हत्याको कारण खुलेन

रुपन्देही हत्याकाण्ड : मृत्तकको पहिचान खुल्यो, हत्याको कारण खुलेन


रुपन्देही ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले ५ जनाको सामूहिक हत्या गरेका छन् ।

स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीले मृत्तक पाँच जनाकै शव सनाखत गरेको छ । हत्यामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका २६ वर्षिय झपेन्द्रसिंह सिंजाली रहेका प्रहरीले जनाएको छ ।

यस्तै मृत्तकहरुमा आशिष चौधरी, करन चौधरी, कोषराज मुसहर, जानकी मुसहर र माधव मुसहर छन् । मृत्तकहरुको पहिचान खुले पनि हत्या किन भयो भन्ने खुल्न सकेको छैन ।

घटनामा कति जना संलग्न रहेका थिए भन्ने पनि खुल्न बाँकी छ । अनुसन्धान पछि घटनाबारे थप विवरण आउने प्रहरीले बताएको छ ।

Logo