कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो, शनिबार मात्रै दुईको पुष्टि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो, शनिबार मात्रै दुईको पुष्टि


काठमाडौं । देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

त्यस्तै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ सय ३५ पुगेको छ । शनिबार थप ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३२ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार पुष्टि भएकामा २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् ।

कोरोना संक्रमणबाट शनिबार मात्रै थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको जानकारी दिए । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पीडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी मिर्गौला पीडित ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कूल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कूल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसको आशंकामा कूल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण गरिएको छ भने ५ हजार ५ सय ७० आरडीटी परीक्षण गरिएको छ ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३, प्रदेश २ मा २१ हजार ९२, वागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ हजार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
देशभर २ हजार ८ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश १ मा १ सय ७०, प्रदेश २ मा ९ सय ४३, वागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ७०, प्रदेश ५ मा ९ सय ६१, कर्णाली प्रदेशमा ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

Logo