२७ साउन २०७९ शुक्रबार
1
1
1
1

'भारतद्वारा ६०६ वर्ग किमि नेपाली भूमि अतिक्रमण' : सीमाविद्

1
1
1
1
1

काठमाडौं ।
सीमाविद्हरूका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरूले बताएका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका २७ जिल्लामध्ये भारतले २४ जिल्लाका ७१ स्थानमा ६ सय ६ वर्ग किमि नेपाली भूमि विभिन्न बहानामा अतिक्रमण गरेको बताए । भारतले सीमा अतिक्रमण, बाधा विरोध, दाबा, प्रतिवाद, सीमापार, गोठ, प्रमोट, दक्खल गरी नेपाली भूमि अतिक्रमण गर्ने क्रम बढाउँदै आएको सीमाविद् श्रेष्ठको भनाइ छ । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय आइरहँदा नेपालका अन्य क्षेत्रमा पनि भारतले सीमा अतिक्रमण गरेर नेपालीलाई सास्ती दिँदै आएको छ,’ सीमाविद् श्रेष्ठले भने ।

नेपाल–भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमा रेखामा जोडिएको छ, जसमा २४ स्थानमा सीमा समस्या रहेको सीमाविद्ले बताएका छन् । सीमाविद् श्रेष्ठका अनुसार भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३ सय ७२ वर्ग किमि, नवलपरासीको सुस्तामा १ सय ४५ वर्ग किमि र अन्य ठाउँमा ८९ वर्ग किमि भूभाग अतिक्रमण गरेको छ ।

सीमामा खटिएका भारतीय एसएसबीले बेलाबेलामा नेपालीलाई हेप्ने, नेपालभित्र पसेर कुटपिट तथा हत्या गर्ने, भारतीयलाई समर्थन गरी सीमा मिच्न लगाउने जस्ता कार्य गर्दै आएको सीमाविद्को भनाइ छ । सरकारले पहिलोपटक भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गर्नुले भारतलाई झस्काएको उनीहरूले बताए । ‘सरकारबाट नक्सा जारी गर्ने कार्य निकै प्रशंसनीय र महत्वपूर्ण छ, अब छिटोभन्दा छिटो वार्तामार्फत अतिक्रमित भूमि फिर्ता गर्ने प्रक्रिया थाल्नुपर्छ,’ सीमाविद् श्रेष्ठले भने ।

त्यस्तै, राजनीतिक विश्लेषक तथा परराष्ट्रविद् डा. लोकराज बरालले भारतीय पक्षबाट विभिन्न कालखण्डमा नेपाली भूमि अतिक्रमण हुँदै आएकाले ती भूमि फिर्ता गर्न सरकारले चालेको कदम सकारात्मक भएको बताए । उनले सरकारले कूटनीतिक तरिकाले समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।राजधानीबाट

प्रकाशित: १७ जेठ २०७७ ०८:३६ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी