अन्य प्रदेश ३

'कोरोना रोकथाममा भएको खर्चको हिसाब प्रक्रिया संगतले आउँछ' : प्रधानमन्त्री (भिडियोसहित)

15 Shares

काठमाडौं ।

प्रधानमन्त्री ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शंकाको दृष्टिले नहेर्न आग्रह गरेका हुन् । विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उनीहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गरे ।

उनले भने, “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुदैन । कामका बेला लेखापरीक्षणतर्फ केन्द्रीत पनि भएका छैनौं । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नु पर्ने पनि छैन । यस्तो परिस्थितिमा तिनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन । ”

उनले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारले कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधैं अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न आग्रह गरे ।

उनले भने, “अनियमितता भयो भन्ने र लाञ्छित गर्ने प्रवृति पनि देखिन्छ । त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दछु । सरकारले कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सहदैन । छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमा उभ्याउँछ र दोषी भएको पाईएमा कारवाही गर्छ म माननीय ज्यूहरुलाई आश्वस्त तुल्याउन चाहन्छु । ”

उनले पछिल्लो समय भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारवाही हुने गरेको भन्दै उनले पहिला त्यसो नहुने गरेको भन्दै प्रतिपक्षी दलप्रति व्यंग्य गरे । उनले भने, “पहिले पहिले देखिंदैनथ्यो । करप्सन हुने नदेखिने हुन्थ्यो । अहिले देखिन्छ र कारवाही भईहाल्छ । पहिलेको भन्दा अलि अनौठो हो । अहिले कारवाही हुन्छ । जोसुकैलाई पनि कारवाही हुन्छ ।” उनले कुनै हिसाबले पनि भ्रष्टाचार हुन नदिने आफ्नो प्रतिबद्धतामा आश्वस्त हुने विश्वास आफूले लिएको बताए ।

प्रकाशित: २८ जेष्ठ २०७७ १२:५१ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी