सुन व्यवसायमा कोरोना कहर : दुई महिनामा २२ अर्ब घाटा

सुन व्यवसायमा कोरोना कहर : दुई महिनामा २२ अर्ब घाटा


काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गइरहेका बेला सुन व्यवसायमा पनि नराम्रोसँग असर देखिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसको असरलाई न्युनिकरण गर्न सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । त्यस समयदेखि यता विभिन्न उद्योग व्यवसाय सबै ठप्प छन् । मुलुकैभरी ठप्प भएपछि सुन बजार पनि पूर्ण रुपमा बन्द अवस्थामा छन् । गत चैत्रको दोस्रो सातादेखि मात्रै मुलकमा लकडाउन भएपनि विश्वका अन्य मुलुकहरुमा कोरोनाको असर देखिएकाले सुन बजार प्रभावित हुन थालेको थियो ।

अहिले सरकारले लकडाउन गरेको दुई महिना नाघिसकेको छ । यो अवधीमा सुन बजारले २२ अर्ब रुपैँयाँ बराबरको घाटा बेहोरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार लकडाउन भएको अवधीभरी सुन बजारले सो घाटा बेहोरेको हो । कारोबार गर्न नपाए पनि व्यवसायीको घरभाडा, बैंकको ब्याज, कर्मचारी खर्च र परिवार खर्च लगायतको खर्च जोड्दा २२ अर्ब रुपैँयाँ घाटा बेहोरेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । सामान्यतया सुन बजारको कारोबार वार्षिक रुपमा ६० देखि ६५ अर्बको हाराहारीमा हुने गर्दछ । सुनको कारोबार मासिक रुपमा ५ अर्ब रुपैँयाँ बराबरको कारोबार हुँदै आएको छ । लकडाउनको अवधीमा सुन तथा चाँदीको कारोबारमा मात्रै साढे १० अर्ब रुपैँयाँ बराबरको क्षति भएको पूर्व अध्यक्ष शाक्यको भनाइ छ । त्यस्तै, कोरोनाका कारण सुन बजारले सरकारलाई तिर्दै आएको राजश्व पनि प्रभावित भएको छ । यो दुई महिनाको अवधीमा सरकारलाई सुनबाट मात्रै ७८ करोड र चाँदीबाट ९० करोड राजश्व घाटा भएको छ । यसरी हेर्दा सुन तथा चाँदी व्यवसाय क्षेत्रबाट सरकारलाई यो दुई महिनाको अवधीमा झण्डै २ अर्ब रुपैँयाँ घाटा भएको पूर्व अध्यक्ष शाक्यले बताए ।

चाँदी दैनिक रुपमा २ हजार केजीका दरले खपत हुँदै आएको थियो भने सुनको खपत सामान्यतया २० केजीको हाराहारीमा खपत हुँदै आएको थियो । कोरोना भाइरसको सुरु भएदेखि नै सरकारले सुनको कोटा घटाएर १० केजीमा झारेको छ । पहिले वाणिज्य बैंकहरुले २० केजीका दरले सुन ल्याउन पाउने व्यवस्था थियो । यो १० केजीको घाटा पनि कोरोना संक्रमणबाट भएको घाटामा गणना गरेको महासंघले जनाएको छ ।

नेपालमा लकडाउन सुरु हुनु भन्दा पहिलेदेखि नै विश्वका विभिन्न मुलुकमा कोरोनाको प्रभाव देखिन थालेकाले सुनको भाउ बढ्दै गइरहेको थियो । त्यसबेला नेपालमा प्रतितोला ८० हजारको हाराहारीमा सुनको् भाउ पुगिसकेको थियो । त्यसले गर्दा पनि सुनको कारोबार प्रभावित हुन थालेको थियो ।

महासंघका अनुसार यो लकडाउनको अवधीमा सुन चाँदीको नयाँ मूल्य निर्धारण भएको छैन । चैत्र महिनामा कायम भएको सुनको भाउ छापावाल ७७ हजार र तेजाबी ७६ हजार ७ सय रहेको छ । चाँदीको भाउ प्रतितोला ७ सय २० रुपैँयाँ रहेको महासंघले जनाएको छ ।

Logo