झापाको कचनकवल गाउँपालिकाले आफ्नै खर्चमा किन्यो भिटिएम

झापाको कचनकवल गाउँपालिकाले आफ्नै खर्चमा किन्यो भिटिएम


झापा ।

पछिल्लो समय प्रदेश नं. १ को झापास्थित कचनकवल गाउँपालिका कोरोना संक्रमणको केन्द्रबिन्दु जस्तै बनेको छ । दैनिकरुपमा यहाँ संक्रमितको संख्या बढ्न थालेपछि यस गाउँपालिकाले अहिले आफ्नै खर्चमा भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) खरिद गरेको छ ।

यसका लागि संघीय र प्रदेश सरकारसँग अनुरोध गर्दा वेवास्ता गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा भिटिएम किनेको हो । गाउँपालिका अध्यक्ष अञ्जार आलमका अनुसार गाउँपालिकाले ५०० थान भिटिएम किनिसकेको छ । थप ५०० थान मगाएको छ । एउटा भिटिएमको कर बाहेक ४ सय रुपैंयाँमा खरिद गरिएको उनले जानकारी दिए ।

भारतका विभिन्न ठाउँबाट आएर यतिबेला गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा १३३ जना बसेका छन् । जस मध्ये ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै झापामा हालसम्म ३५ जनामा कोरोना देखिएको छ ।

पिसिआर परीक्षण गर्नका लागि भिटिएम अभाव हुँदा यस गाउँपालिकामा क्वारेनटाइनमा बसेकाहरुको परीक्षण हुन सकेको थिएन । अझै ७० जना जति भारतबाट आउनेक्रममा रहेका छन् । अब खरिद गरिएका भिटिएमले उनीहरुको परीक्षणमा सहजता ल्याउने अध्यक्ष आलमले बताए ।

Skip This
Logo