काठमाडौं , २०, कात्तिक
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजीमा झण्डै चार गुणाले वृद्धि भएको छ । राष्ट्रबैंकले बासेल—३ अन्तर्गत आर्थिक वर्ष २०७३,०७४ सम्म वाणिज्य बैंकहरुले न्यूनतम दुई अर्ब चुक्ता पुँजीलाई बढाएर आठ अर्ब पुर्याउनुपर्ने, राष्ट्रियस्तरका विकास बैंकहरुले न्यूनतम ६४ करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने तथा राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले २० करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर ८० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि बैंकिङक्षेत्रको चुक्ता पुँजी चार गुणाले बढेको हो । यसबीचमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा १९ खर्ब ७६ अर्ब ८७ करोड ९७ लाख ४० हजार रुपैयाँ पुगेको छ । राष्ट्रबैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७३,०७४ सम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् । सो अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप भने २३ खर्ब ८४ अर्ब ८० करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा रकमबाट २८ वटा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम १७ खर्ब १८ अर्ब १३ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप रकम भने २० खर्ब ९३ अर्ब २५ करोड ५७ लाख ७० हजार रुपैयाँ रहेको छ । सो अवधिमा विकास बैंकहरुले भने दुई खर्ब ३९ अर्ब ४२ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब नौ अर्ब ६० करोड ४८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी फाइनान्स कम्पनीहरुले पनि सो अवधिमा ५२ अर्ब १३ करोड सात लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब १४ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
आर्थिक दैनिकबाट
प्रकाशित: २० कात्तिक २०७४ ०८:१७ सोमबार