२० मंसिर २०७८ सोमबार

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव

काठमाडौं ।

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नु परेको प्रभावितले गुनासो गरेका छन् ।

गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रबिसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी समस्यामा परेका छन् । सडकले बाह्रबिसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । यस्तै बाह्रबिसे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउँपालिकाका पाँचवटै वडा खाद्यान्न अभाव भएको जनाइएको छ ।

धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीयवासी पानी धेरै परेर बाटो भत्किएपछि खाद्यान्न ढुवानीमा असहज हुँदा पीडित प्रशासन र स्थानीय सरकारको भर पर्नु परेको छ । छिमेकी मुलुक चीनसँगको साझेदारीमा ४० मेट्रिक टन खाद्यान्न बाढीपीडितका लागि आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ । “चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ”, उनले भने।

राजमार्गमा सडक भासिने क्रम बढ्यो

राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौंदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।

सडक जोगाउन नदीबाट लगाउनु पर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रो जस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताउनुभयो । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उहाँले जानकारी दिए।

क्यान्सरपीडितलाई सहयोग

लामो समयदेखि क्यान्सरले थलिएकी वलेफी–६ माङ्खाकी नानु तामाङको उपचारमा सहयोग जुटेको छ । नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारीका अध्यक्ष तेजबहादुर पराजुली र माङ्खा–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले रु एक लाख चार हजार सहयोग हस्तान्तरण गरेका हुन्। सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजका तर्फबाट वेदनाथ आचार्यमार्फत रु ५२ हजार र बाँकी दुवै संस्थासम्बद्व सदस्यबाट आर्थिक सङ्कलन भएको हो ।रासस

प्रकाशित: ११ साउन २०७७ १०:०२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी