आजदेखि लकडाउन थप कडा, यसअघि जारी गरिएको सबै पास रद्द (भिडियो)

आजदेखि लकडाउन थप कडा, यसअघि जारी गरिएको सबै पास रद्द (भिडियो)


गत २६ गतेदेखि केही खुकुलो पारिएको लकडाउन आज (बिहिवार) देखि थप कडा गरिएको छ ।

यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गरिएको  गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानैपर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ ।

यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा अहिले परिचयपत्र देखाएर जाने गरिएकामा अब भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गर्न लागिएको छ । पासको दुरुपयोग भएको र पास नभएकाहरु समेत जथाभावी निस्कने गरेकाले उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण उक्त निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । अन्तर जिल्लाका लागि अहिलेसम्म बाँडिएका त्यस्ता पास रद्द गर्ने निर्णय पनि भएको जनाइएको छ ।

लकडाउन थपिएको अवस्थामा जेठ ५ गतेबाट भने सबै पास रद्द गरेर नयाँ पासको व्यवस्था गर्ने समेत बैठकको निष्कर्ष रहेको जनाइएको छ । यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

Logo