काठमाडौं ।
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकता अनुसार स्थानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।
सरकारी निर्णय अनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिए।
मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरण लगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन सम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।
अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नु पर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनु पर्ने तथा सामाजिक दूरी कायम गर्नु पर्नेछ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।रासस
प्रकाशित: २५ साउन २०७७ ११:२० आइतबार