१४ माघ २०७८ शुक्रबार

0 Shares

कोरोना संक्रमित र स्वास्थ्यकर्मीको अपमान ! कता जाँदैछ समाज ?

विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको औषधि अहिलेसम्म बनेको छैन । त्यसैले भौतिक दूरी कायम गर्नु नै यसबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । त्यसैकारण सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

तर, शनिवार काठमाडौंको नयाँ बानेश्वरमा टोल सुधार समितिको एउटा समूह कोरोनाबाट जोगिन भन्दै होटल घेराउ गर्न पुगे । उनीहरुले भौतिक दूरीको त के कुरा निषेधाज्ञा समेत तोडे । उनीहरु प्रदर्शनमा उत्रिनुको खासकारण थियो त्यहास्थित लर्ड बुद्ध होटलमा स्वास्थ्यकर्मीहरू बस्नु ।

अनौठो त के भने त्यहाँ बसेका स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित नै थिएनन् । होटलमा स्वास्थ्यकर्मी राख्दा टोलमा कोरोना फैलिने भन्दै उनीहरुले त्यहाँ राखिएका डाक्टरलाई तुरुन्त निकाल्न चेतावनी दिए ।

टोल सुधार समितिकै नेतृत्वमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई हटाउन प्रहरी नै परिचालन गर्नु पर्‍यो । सुन्दा अनौठो लाग्ने तर समाजको तितो यथार्थ हो यो ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा लडिरहेका र कोरोना संक्रमितमाथि विभिन्न ठाउँमा बारम्वार दुर्व्यवहार हुँदै आएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि समाजबाट अपमान खेप्ने मध्येका एक हुन् संसद सचिवालयको लेखा समितिका सचिव रोजनाथ पाण्डे । कोरोना हुनु अघिसम्म सबैको नमस्कार खाने उनी कोरोना पुष्टि हुनासाथ छिमेकीबाट तिरस्कृत हुनु पर्‍यो । उनी मात्रै होइन उनको घरमा बस्ने  सबैले समाजबाट अपमान खेप्नु पर्‍यो ।

देशकै राजधानीमा बस्ने समाजको चेतनास्तर र मानसिकता त यस्तो छ भने देशका कुना कन्दराको अवस्था के होला ?

हाम्रो समाज कतिसम्म गिर्दो रहेछ भन्ने अर्को उदाहरण चितवनमा देखिएको छ । भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत २७ वर्षीया नर्स रन्जिता थापाले फेसबुकमा लेखेको यो मार्मिक स्टाटसले धेरै कुरा बोल्छ ।

उनी अस्पतालको आइसोलेसनमा बसिरहेकी छिन् तर उनको परिवारलाई समाजले घृणा गरिरहेका छन् । आफ्नै  बाबासँग बोलचाल बन्द हुँदा समेत आफ्नो पेशाप्रति लगनशिल उनी समाजको मानवताहिन व्यवहारले वाक्क भएकी छन् । संक्रमितको मनोवल बढाउनुपर्ने बेलामा भेदभाव गरिदिने समाज कस्तो समाज ? उनको यो प्रश्नको उत्तर हामीले कसरी दिने ?

चितवनकै अर्को घटना हेरौं । बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई गत साउन २५ गते कोरोना संक्रमण पुष्टि भयो । त्यसकै भोलिपल्ट उनकी पत्नीमा पनि पोजेटिभ देखियो ।

उनीहरुको कोरोनाको घाउमा स्थानीय टोल विकास समितिले नुकचुक थपिदियो । टोल विकास समितिले उनको घरमा कोरोना संक्रमितको व्यानर टाँग्ने निर्णय नै गर्‍यो ।

सोही अस्पतालमा कार्यारत एक प्राविधिकमाथि समाजले गरेको दुर्व्यवहार त झन् निकै अमानवीय देखिन्छ । स्थानीय बासिन्दाले घरमा बस्न  नदिएपछि उनी सौरहाकै एक होटलमा बस्न पुगे । होटेलमा पनि समस्या भएपछि नगरपालिकाले सौराहाको थारू कम्युनिटी होमस्टेमा लगेर राख्यो । उनी प्रयोगशालामा काम गर्ने भन्ने थाहा पाएपछि उनी त्यहाँबाट पनि निकालिए ।

उनीसँगै काम गर्ने अमृता चौधरीलाई पनि स्थानीयले  घरमा बस्न दिएनन् र हस्पिटलमै बस्न बाध्य भइन् । जबकी उनीहरुमा कोरोना संक्रमण नै भएको छैन । समाजलाई सुरक्षित बनाउनकै लागि स्वाब संकलनमा खटिएका उनीहरुमाथि समाज नै जाइ लाग्यो ।

उता संखुवासभामा  त झन् कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड नै तोडफोड गरेर १५ लाख बराबरको स्वास्थ्य सामग्री गायब पारियो । त्यो पनि क्याम्पस प्रमुखकै संलग्नतामा ।

यसअघि गत जेठ १६ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत डाक्टर नवीन सहानीमाथि स्थानीय युवाहरूले आक्रमण गरे । उनीहरुको आक्रमणबाट घाइते उनको अनुहारमा  दुईवटा टाँका लगाउनु परेको थियो ।

अझै दर्दनाक घटना त पर्सामा भयो । गत साउन २४ गते वीरगन्ज– २ छपकैयाकी २० वर्षीया युवतीले उपचार नपाएर ज्यान हुमाइन् । सुरुमा उनलाई एड्भान्स मेडिकेयर हस्पिटल लगियो । त्यहाँ भर्ना लिन नमानेपछि नारायणी अस्थायी कोरोना अस्पताल लगियो । त्यहा पनि भर्ना लिन नमानेपछि नारायणी बयोधा अस्पताल लगियो । तर, बयोधाले पनि भर्ना लिएन ।

त्यसपछि उनलाई तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म लगियो । त्यहाँबाट फेरि वीरगन्ज हेल्थ केयर पुर्‍याइयो । तर, त्यहाँ पनि उनलाई भर्ना लिन मानेन । त्यसपछि उनलाई पुन: दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पताल लगियो । दोस्रो पटक भर्ना लिन अस्पताल तयार भए पनि त्यसबेलासम्म उनले यो संसार त्यागिसकेकी थिइन् ।

कोरोनाविरुद्ध फ्रन्टलाइन काम गरिरहेका अझ भनौ विरामीका लागि भगवान् मानिने स्वास्थ्यकर्मीहरूप्रति विश्वमा साथ सहयोग र सम्मान गर्ने प्रचलन छ । तर, यहाँ यसरी अपमान र घृणा भइरहेको छ कि स्वास्थ्यकर्मी कोरोना कारखानामा काम गर्ने कर्मचारी हुन् ।

आफ्नो र परिवारको स्वास्थ्य दाउमा राखेर समाजका लागि कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मी माथिको यस्तो दुर्व्यवहार कोरोना नियन्त्रण होला कि फैलिएला ?

पछिल्लो समय कोरोनाको डरले अन्य रोगका विरामीले समेत उपचार पाएका छैनन् । कयौंले उपचार नपाएरै ज्यान गुमाइसकेका छन् । यहाँ कोरोनाले भन्दा कोरोनाको डरले ज्यान जाने खतरा बढेको देखिन्छ ।

कोरोना जित्न उच्च मनोवल, हौसला र प्रोत्साहन चाहिन्छ तर कोरोना संक्रमितमाथि अमर्यादित र अमानवीय दुर्ब्यबहारहरू भइरहेका छन् ।कोरोनाको लक्षण समेत नदेखिएका कोरोना संक्रमितले समाजको छि: छि: दुर्व्यवहारका  कारण मानसिक तनाव झेल्नु परेको छ । संक्रमितको घरमा ताला लगाउने, बाहिर निस्किन्दा तर्सिने तर्किने जस्ता व्यवहारहरू भइरहेका छन् ।

कोरोना संक्रमित कुनै अर्कै काल्पनिक ग्रहका राक्षस होइनन् कि जो नजिक पर्ना साथ क्वाप्पै खाइदिन्छ ।

आफ्नो ठाउँमा क्वारेन्टाइन बनाउन नदिने, आइसोलेशन बनाउन नदिने, कोरोना संक्रमितलाई लखेट्ने, कोरोनाको विरामी पत्ता लगाउन स्वाब संकलन गर्नेलाई बस्न नदिने, आफ्नो ज्यानको बाजी राखेर संक्रमितको उपचारमा टिएका स्वास्थ्यकर्मी भगाउने । यसरी कोरोना नियन्त्रण हुन्छ कि फैलिन्छ ?

जिउँदो हुँदा मात्रै होइन मृत्यु भइसक्दा पनि कोरोना संक्रमितमाथि उत्तिकै घृणा भइरहेको छ । शव व्यवस्थापनका लागि स्थानीयले अवरोध गरिरहेका छन् । कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रहरी तैनाथ गर्नु परेको छ ।

आधुनिक समाजको चेतनास्तरमाथि प्रश्न चिन्ह उब्जिएको छ । नेपांग्रेजी बोल्दैमा, फाटेको टालेको  लुगा लगाउँदैमा, डिस्कोमा नाच्दैमा, संसारको फन्को मार्दैमा आफूलाई आधुनिक मानव ठान्नेहरूमाथि चुनौती थपिएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि यतिबेला एकअर्कालाई साथ सहयोगको खाँचो औल्याइएको छ ।  यतिबेला दुर्व्यवहार, घृणा, अपमान, तिरस्कार, घमण्ड, स्वार्थ, अपहेलना होइन साथ सहयोग, मानवता, इमानदारिता र समन्वयकारी भूमिकाको खाँचो छ ।

धेरैले भन्ने गरेको ‘यो वर्ष कमाउने र जमाउने होइन बाँच्ने र बचाउने हो’  मन्त्रको मनन गर्दै सबैको मनकारी मनहरु जोडिए मात्रै यो महामारीबाट मुक्ति पाउन सकिन्छ ।

प्रकाशित: ७ भदौ २०७७ १३:४३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी