सत्तारुढ नेकपामा सांसद तानातानको खेल, दवावमा प्रधानमन्त्री ओली

सत्तारुढ नेकपामा सांसद तानातानको खेल, दवावमा प्रधानमन्त्री ओली


कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेसँगै देश ठप्प प्राय छ तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको राजनीतिक सरगर्मीसँगै सांसदहरुको दौडधुप भने बाक्लिएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल बीचको रस्साकसीले पार्टीदेखि सरकारको नेतृत्व फेरबदलसम्मका प्रयास भइरहेको छ ।

शिर्ष नेताहरुबीच पटकपटक छलफल भएपनि ठोस निश्कर्षमा भने पुग्न सकेकोे छैन । ओली पक्षले पार्टी सचिवालयमा हेरफेर गरी १५ सदस्यीय बनाउने, महाधिवेशनबाट नेपाललाई पार्टी अध्यक्ष बनाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, वामदेव गौतमलाई सांसद बनाउने, मुख्यमन्त्री हेरफेर गर्ने प्रस्ताव राखेको बताइएको छ ।

त्यस्तै नेता नेपाल पक्षधरले पनि उधारो प्रस्तावमाथि छलफल नगर्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्नुपर्ने अडान राख्दै आएको छ ।

तर वरिष्ठ नेता खनाल भने प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई कुनै त्यस्तो ठोस प्रस्ताव गरेको आफूलाई जानकारी नभएको बताउँछन् । पार्टीभित्रको विवाद अब के हुन्छ भन्ने प्रश्नमा आज बेलुका बस्ने सचिवालय बैठकले तय गर्ने उनको भनाइ छ ।

उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुरा गर्दै भने–‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट वरिष्ठ नेता नेपाललाई कुनै ठोस प्रस्ताव आएको जस्तो त मलाई लाग्दैन । अब पाटी कसरी अगाडि बढ्छ भन्ने आज बस्ने सचिवालय बैठक पछि थाहा हुन्छ ।’

लगातार छलफलमा जुट्दा पनि सहमति हुन नसकेपछि प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल आ–आफ्नो  पक्षका सांसद जोगाउनेतिर लागेका छन् । ओलीले आफ्नो पक्षका नेताहरुलाई बालुवाटारमै बोलाएर जस्तोसुकै परिस्थिती आएपनि सामना गर्नका लागि तयार रहन आग्रह गरेका छन् । दाहाल नेपाल समूहले पनि सांसदहरुको भेलादेखि हस्ताक्षर अभियान शुरु गर्ने तयारीसम्म पुगिसकेका छन् ।

सचिवालय, स्थायी समिति र केन्द्रिय समितिमा अल्पमतमा रहेका ओलीले संसदीय दलतर्पm ध्यान केन्द्रित गरेका छन् । प्रधानमन्त्री पदको निर्णय संसदीय दलले गर्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दै ओली जसरी पनि संसदीय दलमा बहुमत पु¥याउनेतर्पm लागेका छन् ।
नेकपाको संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ  । एक सय ७४ सांसद मध्ये पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । ओली पक्षधरले आपूmहरुसँग ७८ सांसद रहेको दावी गर्दै थप १० जना सांसद सहजै जोड्न सकिने बताउँदै आएको छ ।

उता नेपाल समूहले भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित ४३ सांसद पूर्वएमालेबाट र ५३ जना सांसद पूर्वमाओवादीबाट गरी ९६ जना सांसद रहेको दावी गर्दै आएको छ ।

सांसद तानातानमा रहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी टुटफुट र अहिले नै सरकार फेरबदलतर्पm लाग्नु नहुने भन्दै ओलीलाई साथ दिएका छन् ।

प्रचण्ड र नेपाल पक्षधरबाट भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, हरिबोल गजुरेल, रघुजी पन्तगायत नेताहरु सक्रिय छन् । यता ओली पक्षबाट भने ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीहरु सक्रियरुपमा लागेका छन् ।
दुवै पक्षले काठमाडौंबाहिर रहेका केन्द्रिय सदस्य तथा सांसदहरुलाई बोलाइसकेका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललगायतका मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका छन् । बाँकी मुख्यमन्त्रीहरु बुधबार साँझसम्म आउने तयारीमा छन् ।

दुबैपक्षका नेताहरुकोबीच सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच झण्डै २ घण्टा छलफल भएको थियो । छलफलपछि आज सचिवालय बैठक बोलाइएको छ । बैठकमा स्थायी कमिटीको बैठक मूल एजेण्डा हुने बताइएको छ । प्रधानमन्त्री ओली सचिवालय बैठक बस्ने तर स्थायी समिति बैठक नबोलाउने अडानमा छन् भने दाहाल नेपाल पक्ष स्थायी समिति बैठक बोलाएरै छोड्ने पक्षमा छन् ।

Logo