क्षेत्रगत असर हेरेर राहत प्याकेज ल्याउन व्यवसायीहरुको माग

क्षेत्रगत असर हेरेर राहत प्याकेज ल्याउन व्यवसायीहरुको माग


  • कमला अर्याल/अनिश मिजार
    काठमाडौं ।

कोरोना भाइरसको संक्रमणले उद्योग तथा व्यवसाय क्षेत्रमा निकै असर पारेको भन्दै व्यवसायीहरुले राहतको माग गर्दै आएका छन् ।

अहिले कोरोना प्रभावित सबै देशहरुले राहत उपलब्ध गराइरहेको सन्दर्भमा नेपालका व्यवसायीहरुले पनि राहतको माग गरेका हुन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कुन कुन क्षेत्रमा के कति असर परेको छ, त्यसको आधारमा राहत ल्याउनु पर्ने बताइन् । ‘सरकारले क्षेत्रगत रुपमा असर हेरेर राहत प्याकेज ल्याउनु पर्छ ।’ अध्यक्ष राणाले भनिन् । यदि सरकारले राहत प्याकेजको व्यवस्था नगर्ने हो भने उद्योग तथा व्यवसाय क्षेत्र पूर्णरुपमा शिथिल बन्ने अध्यक्ष राणाको भनाइ थियो ।

उद्योग, पर्यटन, उत्पादन लगायतका क्षेत्रहरुमा कोरोना भाइरसका कारण निकै क्षति भएको उनको भनाइ थियो । अहिले सरकारले नीजि क्षेत्रलाई खासै राहतको व्यवस्था नगरेको भन्दै ब्याजदर लगायतका कुराहरुमा राहत दिनु पर्ने उनको भनाइ थियो । त्यसैगरी, लक्ष्मी ग्रुुपका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान गर्न आर्थिक प्याकेज नै ल्याउनु पर्ने बताए । उनले करको दरमा पनि पुर्नसंरचना गर्नु पर्ने बताए । भारतमा पनि कर्पोरेट कर घटाइसकिएको अवस्थामा नेपालमा पनि यस्तो व्यवस्था गर्नुपर्छ । ‘पर्यटनमा निकै ठूलो असर परेकाले त्यसलाई लयमा फर्काउन सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै, विद्युत् प्राधिकरणले लिने डिमान्ड शुल्कमा छुट दिए पनि उद्योगी व्यवसायीलाई निकै राहत हुने उनको भनाइ छ । दिगो विकासका लागि ब्याजदर र करमा सहुलियत दिनुपर्नेमा उनको जोड थियो । त्यसैगरी उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई राहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयलाई जानकारी समेत गराएको उनको भनाइ थियो । त्यस्तै उनले अहिलेको अवस्थामा ब्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनु पर्ने माग गरेका छन् । यसले अर्थतन्त्रलाई माथि उकास्न थोरै भएपनि सहयोग हुने अध्यक्ष मोरको भनाइ थियो । त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्शका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनु पर्ने बताए ।

त्यसैगरी, दैनिक कमाएर बैंकको किस्ता तिर्दै आएका यातायात व्यवसायीहरु लकडाउन बढेसँगै समस्यामा पर्न थालेका छन् । दिन-दिनै गाडी चलाएर हुने आम्दानीले चलेको क्षेत्रलाई लकडाउनले ठूलो मर्का परेका बेला ऋणको सावाँ, ब्याज बुझाउन बैंकको फोन आउन थालेपछि व्यवसायी आत्तिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘व्यवसायीहरुले ऋणको ब्याजदर छुट गर्नुपर्ने माग गरेका छन् । लकडाउनका कारण गाडी रोकिएको छ । बैंकको ब्याजको मिटर बढिरहे कसरी तिर्ने ?’ महासचिव सिटौलाले भने – ‘ब्याजमा केही सहुलियत चाहिन्छ ।’

त्यसैगरी व्यवसायीहरुले सामान्यतया ५ वर्षमा किस्ता तिर्नेगरि ऋण लिएर बस चलाएका छन् । किस्ता चुक्ता गर्ने समयसमेत ६० महिनामा तीन महिना थपेर ६३ महिना बनाउनु पर्ने माग गरेका छन् । किस्ता चुक्ता गर्ने समयमा पनि केही महिना थपिदिए व्यवसायीलाई राहत हुने उनीहरुको भनाइ छ । त्यसैगरी, पर्यटन क्षेत्रका ट्रेकिङ व्यवसायीहरु सबैभन्दा बढि मारमा पर्ने भएकाले यो व्यवसायलाई बचाउन सरकारले १ बर्षसम्म बिना धितो सहुलियत व्याज (२ प्रतिशत) मा प्रति व्यवसायी २० लाख रुपैयाँ सम्म कर्जा उपलब्ध गराउनु पर्ने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष तथा पर्यटन व्यवसायी खुम सुवेदीले बताए । उनले २० लाख रकम बिनाकर्जा उपलब्ध गराउन सकेको खण्डमा मात्र आफूहरुले घरभाडा, कर्मचारी तलब लगायतका खर्चको अलावा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेर १ बर्षमा व्यवसायलाई पुनः सञ्चालन गर्न सक्ने बताएका छन् ।

Logo