११ कात्तिक २०७८ बिहीबार

0 Shares

पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । कोरोनाका कारण रोकिएको पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनको लागि विद्यालयमा पठनपाठनसम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो ।

सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङगको प्रयास गराउने जानकारी दिए ।

मन्त्रिपरिषद्को गत असोज १ गते बसेको बैठकले गरेको निर्णयबाट यस कार्ययोजना स्वीकृत भएको छ । कोरोनाको जोखिमका कारण ठप्प भएको विद्यालयको पठनपाठन नियमित रुपमा सूचारु हुन नसकेको अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई व्यवस्थित गर्दै बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न मन्त्रालयले यसअघि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी यही असोज १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस विषयमा आवश्यक सहजीकरण गर्नेछ। होम स्कुलिङको अवधारणा कार्यान्वयन, अस्थायी सिकाइ सहजीकरण केन्द्र स्थापना र सञ्चालन, शिक्षक घरदैलो कार्यक्रम, प्रारम्भिक बाल विकास तथा शिक्षा सञ्चालन सहजीकरण, श्रव्य दृश्य सामग्री विकास र प्रसारण लगायतका क्रियाकलाप सम्पादन गर्न विभिन्न कार्यान्वयनका प्रक्रियाहरु निर्दिष्ट गरिएको छ ।

प्रकाशित: ७ असोज २०७७ ०८:३५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी