अन्य

आइपिएलमा हैदराबादले दिल्लीलाई १५ रनले हरायो

15 Shares

स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ ।

मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ बनाएको थियो । १६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सुरुवातमा राम्रो खेल प्रदर्शन गर्न नसक्दा दिल्ली मध्यम लक्ष्य चुम्न असफल भएको हो । ​

हैदरावादका लागि डेविड वार्नरले ४५ रन बनाए । जोन ब्रेस्टोले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ५३ रन बनाए । केन विलियम्सनले ४१, अब्दुल सामदले १२ रन बनाए । दिल्लीका अमित मिश्रा र कागिसो राबाडाले दुई–दुई विकेट हात पारे ।

ओपनर पृथ्वी शा दुई रनमै आउट हुँदा दिल्लीको ब्याटिङ सुरुमै धर्मराएको थियो । शिखर धवनले ३४, सिमरन हिटमेयरले २१, रिसव पन्तले ३२, श्रेयस ऐयरले १७ र मार्कुस स्टोइनसले ११ रन जोडे । बलिङमा रासिद खानले तीन र भुवनेश्वर कुमारले २ विकेट झारे।

दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।

प्रकाशित: १४ आश्विन २०७७ ०६:११ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी