विश्वभर संक्रमित २० लाख १४ हजार, मृतकको संख्या १ लाख २७ हजार ५९२

विश्वभर संक्रमित २० लाख १४ हजार, मृतकको संख्या १ लाख २७ हजार ५९२


जेनेभा ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार ५९२ पुगेको छ । संक्रमित हुनेको संख्या २० लाख १४ हजार र निको हुनेको संख्या ४ लाख ९१ हजार ७८६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख १४ हजार मानिस कोरोना संक्रमित भएका छन् भने २६ हजारभन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजारको ज्यान गएको छ भने एक लाख ६२ हजार संक्रमित छन् । स्पेनमा भने १८ हजार २२५ जनाको मृत्यु भएको छ भने एक लाख ७४ हजार संक्रमित भएका छन् ।

कोरोना भाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १५ हजार ७२९ जना र बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार १५७ जना, जर्मनीमा ३ हजार ४९५ जना, नेदरल्यान्ड्समा २ हजार ९४५ जना, स्वीट्जरल्यान्डमा एक हजार १७४ जना, स्वीडेनमा एक हजार ३३ जना र आयरल्यान्डमा ४०६ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोकेका छन् ।

परिस्थिती जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरु अघि बढाएका छन् , तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ । रासस/एपी/एएफपी

Logo