उपत्यकाका तरकारी व्यापारी कालीमाटीमै फर्किए

उपत्यकाका तरकारी व्यापारी कालीमाटीमै फर्किए


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चैत २७ गते विभिन्न ११ स्थानमा तरकारी बेच्न तोकिएको ठाउँबाट कालीमाटी तरकारी बजारका व्यापारीहरु पुनः कालीमाटी बजारमा नै फर्किएका छन् ।

महानगरले तोकिएको स्थानहरुमा कोरोना भाइरसको संक्रमण रोकथामको लागि मापदण्ड अनुसार व्यवस्थित नभएको तथा उक्त स्थानहरुमा पानी, बिजुली, शौचालय लगायतका पूर्वाधारको अभाव भएकाले कालीमाटी नै फर्किएको व्यवसायीहरुले बताएका छन् ।

महानगरले कालीमाटी बजारमा तरकारी किन्ने मानिसहरुको भिड बढ्दै गएकाले बजार व्यवस्थित गर्नको लागि अन्यत्र सारेको थियो । तर, व्यावसायीहरुले भने सोमबारदेखि कालीमाटीबाटै तरकारी बेच्न थालेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनोद श्रेष्ठले तोकिएका एघार मध्ये कलंकी र स्वयम्भुबाट व्यापारीहरुले बजार सञ्चालन गरे पनि कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुने गरि सुविधा नभएर व्यापारीहरु फर्किएको बताए ।

महानगरले उपत्यकाका कलंकी, बाफल, स्वयम्भू, वनस्थली गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरबाट तरकारी बेच्नको लागि छुट्याएको थियो ।

कलंकी र स्वयम्भू बाहेक अन्य स्थानका व्यापारीले भने तोकिएकै स्थानबाट व्यापार गरिरहेको समितिले जनाएको छ।

Logo