प्रदेश नं २ : ३६३ व्यक्तिको कोरोना परीक्षण, १३२ को रिपोर्ट नेगेटिभ

प्रदेश नं २ : ३६३ व्यक्तिको कोरोना परीक्षण, १३२ को रिपोर्ट नेगेटिभ


जनकपुर ।

प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । ती मध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश नं २ मा चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ । त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी छ । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा विभिन्न जिल्लामा निर्माण गरिएको तीन हजार २३७ शैया क्षमताको १४६ क्वारेन्टाइनमा ७२ महिला र ९२१ पुरुष गरी जम्मा ९९३ शङ्कास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष गरी जम्मा एक हजार २९४ व्यक्ति होम क्वारेन्टाइनमा छन् भने २१४ शैया क्षमताको आइसोलेसनमा दुई महिला र १२ पुरुष गरी जम्मा १४ जना भर्ना रहेको बताए । रौतहटमा ७०५ शैया क्षमताको १६ क्वारेन्टाइनमा अहिले १७ महिला र २०१ पुरुष गरी जम्मा २४१ जनालाई र तीन महिला एवं ४१ पुरुष गरी ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० शैया क्षमताको आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४०४ शैया क्षमताको १४ क्वारेन्टाइनमा अहिलेसम्म पाँच महिला र ६३ पुरुष गरी जम्मा ६८ लाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिए । बारामा अहिले दुई महिला र ५५ पुरुष गरी ५७ होम क्वारेन्टाइनमा छन् ।

पर्सामा २८६ शैया क्षमताको १४ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १५ महिला र ७० पुरुष गरी ८५ जना क्वारेन्टाइनमा र दुई महिला र नौ पुरुष गरी ११ होम क्वारेन्टाइनमा छन् । पर्साका विभिन्न ठाउँमा रहेको ३० शैयाको आइसोलेसनमा अहिले तीन शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५८७ शैया क्षमताको ३१ क्वारेन्टाइनमा अहिले सात महिला र २४७ पुरुष गरी जम्मा २५४ लाई निगरानीमा राखिएको छ भने सात महिला र १८८ पुरुष गरी १९५ होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ आइसोलेसन कक्षमा अहिले कुनै पनि बिरामी नरहेको बताइएको छ ।

सिरहामा २४६ शैया क्षमताको १७ क्वारेन्टाइनमा अहिले १३ महिला र १२१ पुरुष गरी जम्मा १३४ र चार महिला एवं ७३ पुरुष गरी होम क्वारेन्टाइनमा ७७ रहेका छन् । त्यस जिल्लामा ४० शैयाको आइसोलेसन रहेकामा त्यहाँ अहिले चार शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।

सचिव घिमिरेका अनुसार धनुषामा ३६२ शैया क्षमताको १७ क्वारेन्टाइनमा अहिले छ महिला र ९३ पुरुष गरी ९९ जनालाई राखिएको छ । यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरी ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा १२ शैयाको आइसोलेसन रहेकामा त्यहाँ दुई महिला र पाँच पुरुष गरी सात शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३२५ शैया क्षमताको १७ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म २० महिला र ७७८ पुरुष गरी जम्मा ७९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा सात महिला र ६७ पुरुष लगायत ७४ जनालाई राखिएको छ । महोत्तरीमा २६ श्ययाको आइसोलेसन निर्माण गरिए पनि अहिले तिनमा कुनै पनि शङ्कास्पद बिरामी नआएको उनले बताए ।

सचिव घिमिरेले सर्लाही जिल्लामा ३२१ शैया क्षमताको २० क्वारेन्टाइनमा अहिले दुई महिला र ५९ पुरुष गरी ६१ जना रहेका बताए। उनले पाँच महिला र ४५ पुरुष गरी ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको पनि बताएका छन् । त्यहाँ १५ आइसोलेसन कक्ष निर्माण गरिए पनि अहिले ती आइसोलेसनमा कुनै पनि शङ्कास्पद बिरामी आएका छैनन् । रासस

Logo