1
1

पशुपतिमा एक शवदाह गृहसहित तीन वटा शवदाह यन्त्र थपिने

1
1
1

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘महानगरका सम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवर्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रममा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।’

प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए । ‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने, ‘अब सम्झौताको चरणमा पुगेका छौँ। काठमाडौँ महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसर लगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौँ ।’

शाक्यले पशुपति क्षेत्रमा थप तीन वटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौँ महानगरले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए।

‘हामीले पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि पटक–पटक मेयरज्युसँग छलफल गरेका छौँ,’ ढकालले भने, ‘पछिल्लो समय शवको चाप बढिरहेको अवस्थामा थप शवदाह यन्त्र निर्माण गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता थियो । यस्तो बेलामा महानगरपालिकाको सकारात्मक पहलसँगै शवदाहमा सहज हुने अपेक्षा गरेका छौँ ।’

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ ।

करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य लगायतको उपस्थितिमा आज कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले पार्क शिलान्यास गरे । पार्क करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिईन् ।

प्रकाशित: २६ असोज २०७७ १३:२७ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी