ललितपुर महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सुरु


ललितपुर ।

तपाईं मुटु, मिर्गौला, उच्च रक्तचाप लगायतका रोगको विरामी हुनुहुन्छ ? लकडाउनले गर्दा अस्पताल जान सवारी साधन पाउनु भएको छैन ? त्यसो भए, ललितपुर महानगरपालिकाको हटलाईन नम्बर ११३१ मा फोन गर्न सक्नुहुन्छ । पैसा नलाग्ने यो नम्बरमा फोन गरेपछि एम्बुलेन्स तपाईंले भनेकै ठाउँमा आइपुग्छ । र, तपाईंलाई निःशुल्क अस्पताल पु¥याइदिन्छ ।

ललितपुर महानगरलाई नेपाल फुटबल संघ एन्फाले कोरोना संक्रमण र नियन्त्रणका लागि प्रयोग गर्न दिएको दुईवटा एम्बुलेन्स मध्ये एउटा अन्य रोगको बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गर्ने निर्णय गरिएको महानगरले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुविधा सम्पन्न ती एम्बुलेन्स मध्ये एउटाले कोभिड १९ को लक्षण देखिएका बिरामीका लागि र अर्को अन्य रोगका बिरामीका लागि व्यवस्था गरिएको छ । ’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले एउटा एम्बुलेन्स कोरोना भाइरस संक्रमितका लागि ‘स्ट्याण्ड बाइ’ राखेको बताउँदै भने, ‘अन्य रोगका बिरामीलाई अस्पताल पुग्न लकडाउनका कारण समस्या भयो भन्ने जानकारी पायौं ,त्यसैले अन्य बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरेका हौं ।’ लडडाउनले गर्दा मधुमेह, उच्च रक्तचाप, डायलासिस गर्नुपर्ने बिरामीले अस्पताल पुग्न साधन नपाउँदा समस्या भोग्दै आएका छन् ।

प्रमुख महर्जनले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सहयोग गरेकोमा एन्फालाई धन्यवाद दिएका छन् । महानगरका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले अन्य रोगका बिरामीलाई अस्पताल पुग्न अब सहज हुने बताए । उनले महानगरको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सक्ने बताए । कार्कीका अनुसार बिरामीले एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

कोरोना संक्रमण नियन्त्रणमा आएपछि एम्बुलेन्स एन्फालाई नै फर्काउने गरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरका प्रमुख चिरीबाबु महर्जनले केही दिन अघि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

Logo