लकडाउनपछि २७ सय विदेशी स्वदेश फर्किए

लकडाउनपछि २७ सय विदेशी स्वदेश फर्किए


काठमाडौं ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।

आफ्ना नागरिक लैजानेमा अधिकांश युरोपेली मुलुक छन् । खाडी मुलुकले भने आफ्ना नागरिकलाई फर्काएका छैनन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन गरेको दिनबाट आइतबारसम्म करिब २७ सय विदेशी नागरिक चार्टर्ड वा अन्य विमानबाट बाहिरिएका छन्।

नेपालले चैत ११ बाट मुलुकभर लकडाउनको घोषणा गरेको थियो। त्यसलगत्तै नेपाल घुम्न वा अन्य कामले आएका विदेशी आ–आफ्नो घर फर्कन चाहेका थिए । त्यसपछि ती विदेशीलाई सम्बन्धित मुलुकका नेपालस्थित दूतावास र सम्बन्धित मुलुकसँग सम्पर्क गरेर फिर्ता पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

आफ्ना नागरिक फिर्ता लग्ने मुलुकमा अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलिया लगायत छन्। ‘युरोपेली युनियनभित्र रहेका मुलुकका नागरिक भने सबै एउटै विमानमा गएका थिए,’ महानिर्देशक केसीले भने। कुनै मुलुकले आफैं विमान लिएर आएका थिए भने कसैले अन्य मुलुकको विमान प्रयोग गरेर आफ्ना नागरिक लगेका थिए। अस्ट्रेलियाली नागरिकलाई भने नेपाल वायु सेवा निगमको जहाजले पुर्‍याइदिएको थियो।कान्तिपुरबाट

Logo