ललितपुर महानगरपालिकाले बिहिबारदेखि राहत बाड्ने

ललितपुर महानगरपालिकाले बिहिबारदेखि राहत बाड्ने


ललितपुर ।
ललितपुर महानगरपालिकाले ज्याला मजदुरी गर्ने, विपन्न , असहाय परिवारलाई बिहिबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लडडाउनका कारण काम गुमाएका परिवारलाई राहत वितरण गर्न लागिएको हो ।

महानगरिभत्रका सबै वडाहरुबाट प्राप्त विवरणको आधारमा मंगलबार र बुधबार आवश्यक तयारी पूरा गरी बिहिबारदेखि प्रत्येक वडाबाट नै राहत वितरण गर्ने महानगरले जनाएको छ । ललितपुर महानगरको कार्यपालिका बैठकले हाललाई दुई जनासम्मको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिउरा १ किलो र तेल आधा लिटर वितरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई १० किलो चामल, २ किलो दाल , १ प्याकेट नुन, ३ वटा साबुन, डेढ किलो चिउरा र आधा लिटर तेल वितरण गर्न निर्णय भएको महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।  वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ । अर्थ मन्त्रालयले बिहिबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिबार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुनः निवेदन दिन आव्हान गरेको थियो ।

महानगरपालिकाले एक साता अघि पाँच करोड रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष स्थापना गरिसकेको छ ।

Logo