पशुपति विकास कोषले पशुपंक्षीलाई आहारा र असहाय मानिसलाई निःशुल्क खाना खुवाउँदै

पशुपति विकास कोषले पशुपंक्षीलाई आहारा र असहाय मानिसलाई निःशुल्क खाना खुवाउँदै


काठमाडौं ।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले मानिसहरुलाई आतंकित बनाएको छ । यसले आतंकित मात्र होइन विश्व अर्थतन्त्रमा समेत ठूलो सङकट निम्त्याएको छ । नेपालमा पनि कोरोनाको संक्रमण देखिएकाले यसको रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ ।

यसरी देश १३ दिनदेखि लकडाउनमा रहेकाले सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक कामसमेत हुन सकेका छैनन् । त्यतिमात्र होइन पशुपतिमा जलाउने शवको सङख्या समेत घट्दै आएको छ। शव घटे पनि कोरोना भाइरसको जोखिमबाट बच्नको लागि कोषले शव जलाउनेदेखि घाट सरसफाइ गर्ने र कामदारलाई पिपिईको व्यवस्था गर्ने काम गरिरहेको पशुपति बिकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए ।

उनका अनुसार पशुपति मन्दिरमा नित्य पूजा पनि भइरहेको र अन्य विशेष पूजा रोकिएको तथा दर्शनार्थी नआउने भएकाले दर्शनार्थी व्यवस्थापनको काम कम भएको छ । उनले भने, अहिले हामीले पशुपति क्षेत्रभित्र रहेका मृग, बाँदर, परेवा तथा चराचुरुङ्गीलाई दाना खुवाउने तथा विपन्न, असाहय तथा लकडाउनले अलपत्र परेका मजदुर गरि करिब ५ सय जना मानिसलाई निःशुल्क खाना खुवाउन थालेका छौं । पशुपति विकास कोष तथा दाताहरुको सहयोगमा यो काम भइरहेको हो ।

कोषले कोरोना संक्रमण हुन नदिनको लागि पशुपति क्षेत्रमा कर्मचारी तथा शव दहन गर्नेदेखि घाट सरसफाइ गर्ने कर्मचारीलाई समेत गुणस्तरिय पिपिइ लगायत सेनिटाइजरसमेत उपलब्ध गराएर काम गरिरहेको छ । यसमा काम गर्ने कर्मचारीको स्वास्थ्यमा पनि कुनै असर नपरोस् भनेर कोषबाट नै विपत व्यवस्थापन गर्न मिल्ने रकम खर्च गर्न मन्त्रालयबाट नै स्वीकृत भएकाले त्यहिबाट खर्च गर्न लागेको खतिवडाले बताए ।

लकडाउनमा शव दहन ४२ प्रतिशत घट्यो

कोरोना संक्रमण नियन्त्रणका लागि चैत ११ गतेदेखि देश लकडाउन हुँदा काठमाडौंमा मृत्यु हुनेको संख्या घटेको छ । मृत्यु हुनेको सङ्ख्या घट्नुमा विदेशबाट आउने शव रोकिनु, उपत्यका बाहिरबाट उपचारका लागि काठमाडौं आउने क्रम घट्नु र सडक दुर्घटना कम हुनु लगायतले मृत्यु हुने संख्या घटेको अनुमान गरिएको छ । पशुपति लगायतका घाटहरूमा दैनिक हुने शव दहनको संख्या अहिले करिब ४२ प्रतिशतले घटेको छ ।

उपत्यकाको सबैभन्दा बढी शव दहन हुने आर्यघाट नै पशुपतिको हो । कोरोना भाइरसको संक्रमण देखिनु तथा देश लकडाउन हुनुभन्दा दश दिन अगाडिसम्म दाउरा र विद्युतीय शवदाह गृहमा गरि १८१ शव दहन भएका थिए । तर, लकडाउन भएपछिका ११ दिनमा १७ मात्रै शव दहन भएको पशुपति विकास कोषका सदस्य सचिव प्रदिप ढकालले जानकारी दिए ।

ढकालका अनुसार सामान्य अवस्थामा भष्मेश्वरघाटमा दैनिक ३५ देखि ४० वटासम्म शव दहन हुन्थे । तर, अहिले लकडाउनपछि दिनमा ३, ४ वटा मात्रै शव दहन हुने गरेका छन् । उनले भने, ‘उपत्यकामा कसरी मृत्यु हुनेको सङ्ख्या एक्कासी कम भयो । हुन त कोहि कसैको मृत्यु हुनु दुःखद् विषय हो । तर, अचम्म के हो भने लकडाउनपछि यसरी घट्नुमा केही त छ । यो हामी सबैको खोजीको विषय हो,’ ढकालले भने ।

लकडाउन भएपछि पशुपतिमा मात्रै नभएर उपत्यकाका सबै घाटहरुमा शव दहन घटेको छ । जस्तै ,उपत्यकाको अर्को स्वम्भूनाथको चिप्लेटीघाट, टेकुस्थित पचली भैरवघाट, शंखमूलस्थित मसानघाट, विष्णुमती नदी किनारस्थित शोभा भगवतीघाट लगायतका घाटमा पनि शव दहन घटेका छन् । यी घाटमा लकडाउन भन्दा पहिले दैनिक ४/ ५ वटा शव दहन हुने गरेपनि अहिले १२/१३ दिनमा एक दुई वटा मात्र शव दहन हुने गरेको पाइएको छ ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार मुलुकभर सवारी दुर्घटनाका कारण दैनिक सात देखि आठ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकाभित्र भने दैनिक एक जनाको मृत्यु हुन्छ । तर, लकडाउन भएयता सवारीसाधन सञ्चालन नहुँदा उपत्यकामा सवारी दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन ।

Logo