माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या

माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या


दोलखा ।

सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो ।

निर्माणाधिन आयोजनाले काम जारी राख्ने प्रयत्न गरेपनि निर्माण सामग्री, मजदुरलाई मानसिक रुपमा तयार नपार्दासम्म काम गर्न अझै समस्या रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण जारी राख्न हरसम्भव प्रयास गरिरहेको छ । लकडाउनको समयमा काम गर्न अप्ठ्यारो भएपनि आफूहरुले निर्माण जारी नै राखेपनि केही अत्यावश्यक सामग्रीको आयातसमेत सहज नहुँदा जटिलता पैदा भएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ, तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमणको त्रासपछि पछिल्ला केही दिनमा आयोजनाको काममा समस्या पैदा भएको छ ।

सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको थियो । समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने चैत २० गतेको निर्णयमा समावेश थियो ।

सोही निर्णयका आधारमा माथिल्लो तामाकोशीको काम जारी भएपनि अपेक्षा अनुसार काम गर्न भने लकडाउनका कारण समस्या देखिएको छ । आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको चैत ३ गतेदेखि परीक्षण गरिएको थियो । परीक्षण सफल भएको छ । त्यसको समग्र पक्षको मूल्याङ्कन भने जारी नै छ । स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको भएपनि कोरोना कहरमा परेको छ ।

आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । तर, कूल ६८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना कहर देखिनु अघिसम्म कूल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ । त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ । यस्तै कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कूल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ ।

निर्माण व्यावसायी र कामदारलाई विश्वासमा लिएर पाइप जडानको कार्य जारी राख्ने प्रयासमा आयोजना रहेको छ । आयोजनाको केही सामान नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको भएपनि लकडाउनका कारण आयोजना स्थलमा पु¥याउन समस्या पैदा भएको छ । “बाटो सहज नभएका कारण ती सामान आयातमा जटिला देखिएको छ । कुनै उपाय लगाएर भएपनि सामान ल्याउने प्रयत्न भने जारी छ”, प्रवक्ता न्यौपानेले भने। आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मुख्य सुरुङमा अन्तिम चरणको ढलान सम्पन्न हुनै लागेको छ ।रासस

Logo