म कोरोना- ‘शक्तिशाली अनि विश्वव्यापी भगवान् !’

म कोरोना- ‘शक्तिशाली अनि विश्वव्यापी भगवान् !’


  • रमेश भट्टराई ‘सहृदयी’-

तपाईँले सिमलीको रुखमा लाग्ने जाली जसरी ढाकिएको पहेँलो लहरोलाई देख्नुभएको छ ? के त्यसको आफ्नै जरो हुन्छ त ? अहँ । अनि बाँच्नलाई सहारा सिमालीले नै दिन्छ नि त । आखिर म पनि मानिसविना आफैंमा कहाँ जीवित हुन सक्छु र । मलाई संसारमा पु¥याउने दर्बिला आधार हवाइजहाज, यातायात नभएर आखिर अरू के नै थिए र ? एउटा मेरो मित्रलाई यसो कतै पठाइदिएँ अनि उसले अर्कोलाई सम्पर्क राख्छ तब त मेरो फैलावटको अवसर मिल्छ ।

म एउटा सानो भाइरस । मलाई कोभिड १९ अर्थात् विश्वविख्यात कोरोना भन्छन् । मलाई अहिले सारा संसारका हरेक मानिसले नाम लिन्छन्, कोही कमाउँछन्, कोही डराउँछन्, कोही मेरो नाममा अपवाह पनि पैmलाउन भ्याउँछन् । कालोबजारी, भ्रष्टाचारी, अत्याचारी, दानवीर, बलवीर, बुद्धिवीर सबैलाई मैले नियन्त्रण गरिरहेको छु । ठूला–ठूला मै हुँ भन्नेहरू मेरै त्रासमा भयभित छन् । मेरो पूजामा व्यस्त छन् । अनि मेरै कारणले कसैले लुटेरा त कोही दाता बन्ने अवसर पाइरहेका छन् । कसैलाई मिलाउने अनि सबैलाई अलग्याउने मेरो तागत हो । आजसम्म कसैले यसरी संसारका मानिसहरूलाई एउटै छातामुनि यसरी उभ्याएको प्रमाण छ त ? सामाजिक सञ्जालमा प्रायः सबैको स्टाटस म हुँ । बुझ्न सक्ने बालकदेखि दिमाग ठीक भएकासम्म हरेकको मस्तिष्क भुट्ने खुबी मैले राखेको छु । मलाई संसारको एक्लो भगवान् भने हुन्छ– म ‘कोरोना संसारको एक मात्र भगवान् !’

मेरो सान देख्दा तपाईँलाई अचम्म लाग्ला । म एउटा जिवाणु तर संसारमा तहल्का मच्चाउने सानदार वस्तु । तपाईँले रक्तबीजको कथा सुन्नुभएको छ ? एउटा रगत भुइँमा खसे ऊ जस्तै बलवान् अर्को रक्तबीज उत्पत्ति हुने । हो म पनि मान्नुहोस् कि रक्तबीज हुँ । मलाई केही दुःख गर्नु परेकै छैन । मानिसले एक आपसमा लैजान्छन् । म विश्वव्यापी महामारीको नामले चिनिइसकेकै छु । आखिर औषधी पनि त बनेको छैन नि । खुच्चिङ । नेपालमा धनाढ्य, विद्वान् वर्ग, सरकार सबै चुपचाप नै छन् । भनेपछि नेपालमा औषधी बनाउने खुबी थियो भने पनि कोसिसै गर्दैनन् । अब अमेरिका जस्ताले बनाउला भने उसैले पैसो कमाउला भन्ने अनुमान चाहिँ भएकै छ । कि चीनले पत्ता लाउने हो कि खै ! मलाई भय त कहाँ नभएको हो र । तर, ठोकुवा गरे पनि हुन्छ– नेपालका कसैमा यो बुद्धि पलाएको छैन ।

मेरो क्षमता र शक्ति देखेर संसारमा कति हलचल आयो ? यो देख्दा मलाई भित्रभित्रै खुशी लागेको छ । त्यो भन्दा बढी त सरकारले भनेको नटेर्ने अटेरी अनि लापरबाही गर्नेहरू मेरा प्रिय प्रचारक हुँदै हुन् । मलाई त तिनैसँग सम्बन्ध गाँस्न मन लाग्छ । अझ गहिरोसँग । तिनमा सुरक्षा कवच हुँदैन नि त । तपाईँलाई थाहा छ– यदि नेपाल सरकारले एसईई चलाएको भए, अन्य भीडभाड सातदिन जति राखिरहेको भए, यो लकडाउन सकडाउन नगराएको भए मैले नेपालमा पनि राम्रै लक्ष्य बनाउने सम्भावना थियो । तर, के गर्नु सबैतिर रोकिसक्यो । यहाँको सरकार बाठो भयो । अझै यो नियम नमान्नेहरूको केही जमातसँग मेरो फैलावटको सम्भावना कायम छ । मैले हिम्मत हारेको छैन ।

मैले बाटो त खुब खोजेको छु । तर, मान्छे निकै बाठा भएको देखेरै रिस उठ्छ । फेरि यो चोक चोकमा हिँड्ने, भेला हुनेको ठूलो जमातभित्र कसै गरी पस्न सकेँ भने अनि मेरो पाइन थाहा हुन्छ । यत्तिका धेरै संसारकै मान्छे खाइसकेको मेरो क्षमता देख्दा मान्छेको बुद्धिमा के पस्दै होला ! अटेरीको पर्खाइमा छु । हुन त अहिले तिम्रा मन्दिर, मस्जिद, गिर्जाघरमा भगवान्, अल्लाह, प्रभु पनि सतर्क विश्राम (क्वारेन्टाइन) मा छन् । कोही अनेक अन्धविश्वासी भ्रम पैmलाउन पनि तल्लिन होलान् । तर, मेरो शक्ति विश्वव्यापी छ । अब विलासी, घमण्डी, आशक्ति, भ्रष्टाचारी, बलात्कारी, शोषक, सामन्त, पेलाहा, हेपाहाहरू कमसेकम केही शान्त त होलान् ।

गीताको श्लोक बमोजिम : “जब जब सङ्कट पर्छ तब म उद्धार गर्न आउनेछु …..” अर्थात् ‘म बलवान् हुँ’ भन्नेलाई झापड हान्ने मेरो तागत देख्दा कस्तो लाग्दो हो । विश्वमा सङ्क्रमित भइरहँदा म सानो भाइरससँग अब को नडराउला ? चीन हुँदै इटाली, अमेरिका अनि संसारका हरेक मै हुँ मै हुँ भन्नेहरू पनि । ठूला–ठूला आविष्कारको आडम्बरमा गमक्क पर्नेहरूका टाउको दुखाइको कारण म । जलमा म हुँ, थलमा म हुँ, घरमा म हुँ, झुप्रोमा हुँ, महलमा हुँ, गाउँमा म छु अनि शहरका कुना कुनामा मात्र मेरो नाम । राम नाम नै गायब ?!

सडकमा हिँड्दै गर्दा प्रहरीले तपाईँलाई भाटे कारबाही गरेको देख्दा चाहिँ मलाई रिस उठ्दै छ । आखिर मान्छेले मलाई कति मन पराएका छन् ! मलाई रोक्ने भनेर रातोदिन ती प्रहरी घर, परिवार, आफन्तको प्रेम छोडेर मलाई रोक्न भन्दै यत्तिको जोखिम किन मोल्दै छन् । संसार डराइरहँदा ती स्वास्थ्यकर्मी नडाराउने ? प्रदेश दुईतिर भाटा खाइरहेका मानिसको लर्को देखेर दया लाग्दै छ । तर, मलाई त सरकारको नियमको अवज्ञा गर्ने तिनै मानिससँग बढी आशा छ । आफ्नो लागि भनेर तिनले नबुझ्दा त मलाई फाइदा हुने सम्भाव्यता बढी हुन्छ ।

के मान्छे प्रकृतिभन्दा बलियो छ ? के मान्छेले यान्त्रिक जीवनलाई नै सर्वेसर्वा ठानेर हुन्छ ? मास्क लगाएर मात्र हुन्छ ? हात धोएर मात्र पुग्छ र ? म त सक्दो रूपमा बहुमतको कदर गर्छु नि । मेरो सम्पर्कमा रहनेलाई छ्यास्स छोयो, म सुटुक्क गइहाल्छु । मान्छेले जीवनको भरोसा भनेर गाउँलाई नै समात्दा त मलाई आज अप्ठेरो पर्दै गएको हो ।

हैन, तपाईँलाई के लाग्छ– म चीनको वुहानबाट उडेर इटाली पुगेको हुँ र ? अनि के म घर–घरमा ढोका ढक्ढक्याएर आएको छु र ? मेरो त आफ्नै सान छ । मलाई बोलाएर मात्र पनि हुँदैन । स्वयम् लिन आएपछि बल्ल साथमा आउँछु । म कोरोना भगवान् त्यसै आउँछु र ! जो मेरो भक्त हो उसैकोमा प्रेमपूर्वक आउँछु । अनि आएपछि चाहिँ यसरी आउँछु नि पूरै समर्पित हुन्छु । म बाट छिःछिः दुरदुर गर्नेसँग म किन आउने ? तर, खुशीको कुरा मान्छे धेरै डराउँछन् नि । अनि म काल बन्छु काल । सामान्य रुघाखोकी लाग्छ, मौसमी समस्या हुन्छ नि मान्छे आजकल अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्से जस्ता हुन्छन् । हो म जसले बेवास्ता गर्छन्, सङ्क्रमित मान्छेसँग रहँदा सर्न मिल्ने अवस्थासम्ममा त म आइहाल्छु ।

हैन यो चीन कस्तो बदमास होला । करिब एक हप्तै हुन लाग्यो होला– अहिले त मलाई फैलन दिएको छैन भन्या । बढ्न खोज्छु, खुब सचेत भएर बस्छन् । मेरो ढोका नै बन्द गरिदिए जस्ता छन् । सरकार मात्र हो र जनता नै एक छन् त । अनि म के गरौँ । दुःख लाग्छ ।
अनि, इटाली–इटालीमा त हुर्रे,….. किनकी म आएको थाह हुँदाहुँदै पनि हिँडिरहे, घुमिरहे, सरकारले भन्यो तर पनि मानेनन् । सरकारले आदेश जारी गरिरहँदा त मलाई निकै डर लाग्यो । तर, जब त्यहाँका जनताले मानेनन् नि । तब मेरो राज चल्यो । पैसो कमाउनु छ नि त मान्छेलाई । मान्छेको बानी थाहा छ मलाई ।

नेपालमा त पहिल्यै बुद्धि पु¥याएर यहाँको सरकारले गर्नसम्म गरिदियो । जनता पनि केही–केही असचेत नत्र लगभग सचेत छन् जस्तो छ । मलाई आउन नदिन बाटै बन्द गरेपछि म कसरी आउने र ? अँ, तर मेरो नामसँगै म आउन सकूँ नसकूँ डेंगुको त्रास चाहिँ फैलने सम्भावना छ है ।

अँ साँची, मेरो कारणले मेडिकल माफियादेखि लुटेरा बजार व्यवसायीले सोझालाई चाहिँ ठग्नसम्म ठगेकै थिए । अझै कृत्रिम अभावको अपवाह पैmलाउन कहाँ बाँकी राखे र ? सरकार नै काउछो बनिदियो । कमसेकम यही बहानामा लुट्नेलाई फाइदा त हुँदै थियो नि । पूर्व सतर्कताका लागि प्राथमिक सुरक्षा केन्द्र (क्वारेन्टाइन) को तयारी पनि खुब गरिरहेका छन् । कोही दाता बनेका छन् त कोही सहयोगी पनि बन्दै छन् । अर्को कुरा पनि त छ, कोही त यही मौकामा चौका हान्ने सोचले कोष खडा गर्ने बल्छी पनि हान्न खोज्लान् कि जस्तो लागिरहेको छ । तर, यो सरकारले निगरानी गर्न खोज्दै छ ।

आखिर नेपालमा त ठूलै मान्छे सचेत छैनन् नि । आगो लागेपछि कुवा खन्ने बुद्धि भएको देश न हो । मैले देखिसकेको छु यहाँ त चिकित्सकको मनोबल गिर्ने काम स्वयम् स्वास्थ्य मन्त्रीबाटै हुन्छ । आखिर मेरो कारणले सङ्क्रमित पनि त चुपचाप बस्छन् । अनि निजी अस्पताल अरू बेला कस्सेर गरिबका घरबार उडाएर १० रुपैँयाँको उपचारलाई १० हजारमा अनि १ हजारमा हुने उपचारलाई १ लाखमा गराउने आदत बसेकाले आफ्नो एम्बुलेन्स नै बन्द गर्दैछन् । मलाई सबै थाहा छ किनकि म कोरोना भगवान् हुँ नि त ! सरकारी अस्पतालमा बिरामीको कहाँ वास्ता हुन्छ र ? डाक्टर आफ्नै ज्यान जोगाउको समस्यामा छैनन् र ?

पीडा भा’छ, मान्छे घरमा बसिसकेका छन् । खुब सामाजिक सञ्जालमा व्यस्त भए तर मलाई मस्त हुने अवसर दिएनन् । मान्छे जति सचेत हुन्छन् मलाई त्यति डर छ । तर, यतिखेर गरिब मजदुर अनि दिनमा काम गरेर छाक टार्ने मान्छेतिर भने सरकारको ध्यान पुगेको छैन सायद ।

ती वुहानमा १०३ वर्षकी आमा ६ दिनको उपचारपछि निको भएकी अनि अझ इटाली मोडेनाकी ९५ वर्षिया निको भएका कुराले मलाई अचम्मित नतुल्याएको कहाँ हो र ! मान्छेलाई मेरो रहस्य थाहा भइरहेको छ नि । आखिर म त्यति साह्रो अप्ठ्यारो पनि कहाँ हुँ र ! अमेरिकाको मेरिल्यान्डमा तीन जना बिरामी ठीक भएछन् । केही देशहरू औषधी खोज्न निकै तल्लिन छन्, कोसिसमा छन् । धनाढ्यले लगानी गरेका छन्, बुद्धिजीवीले बुद्धि खर्चिइरहेका छन् । मलाई त्यसै कुराले डर पैदा गराएको छ ।

यातायात, हवाई, पर्यटन सँगसँगै नेपालको ‘भ्रमण वर्ष २०२०’ को प्रारम्भमै मैले वज्रपात हानेकै हुँ । डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, औषधी लगायतका सामग्रीदेखि खाद्यान्नको व्यवस्थापनका विषयले मैले उस्तै परे भोकमरी र हाहाकारको मच्चाउने त थिएँ तर नेपालमा गाउँका अधिकांश नेपालीले आफ्नो जोहो गर्न जानेका छन् । विगतको नाकाबन्दीले सिकाइसकेको छ ।

तर, प्रकृति स्वच्छ भइरहेको छ नि मेरो कारणले । व्यस्त मानिस घरमै बसेका छन्, गाउँको माया र परिवारको मायामा एकछिन् यान्त्रिक मान्छे सामाजिक सञ्जालमा हुरिएका छन् । गृहकार्यको बोझले थिचिएका बालबालिकाहरू आज कि त कार्टुन कि त बारीका डिलमा भुल्दैछन् । अलिकति त राहत पाए । अनि प्रकृतिभन्दा मानिस ठूलो हुनै सक्दैन भन्ने सन्देश त्यो मानिस भन्ने जातको बुद्धिरूपी भाँडोमा अलिकति त पसेको होला नि । केही सरसफाइतिर पनि त मानिस व्यस्त छ । तर, पशुपतितिर बाँदर भोकै भए हुनन् । शहरतिर कुकुर भोकै होलान् । गरिब मगन्ताको बेहाल हुन सक्छ । सायद अरू पनि ।

आखिर मेरो तागतले विलासी स्वाँठहरूमा अलिकति जीवन धेरै लामो होइन घमण्ड नगर बरु दुःखीलाई सेवा पनि गर, पैसा मात्र सबै थोक होइन भन्ने कुरो घुस्दो हो । म ठूला–ठूला विद्वान्का मस्तिष्कमा, ल्याबमा, कोठामा, घरमा, बहसमा सबैतिर अटाइएको एकमात्र शक्तिशाली कोरोना भगवान् । सारा धर्मका ठेकेदार धर्मभिरुले देखाएको पृथक्तालाई एउटै मानवताको आँखामा हेरेर मेरै भक्त बनाउन सफल भगवान् म नभएर अरू को हुन सक्ला । मेरो धर्म एउटै, जात एउटै, देश एउटै अर्थात् पृथ्वी नै एउटै देश अनि एउटै घरमा बस्नुपर्ने अवस्था (लकडाउन) को नियमभित्र बन्धित ।

तर, म भगवान् कि भाइरस हुँ ? मेरो नाम त सबैले लिएकै छन् । मेरा प्रिय भक्तको सङ्ख्यालाई घटाउन चाहिँ मान्छे कति सक्षम होला त ? त्यसले मलाई प्रभाव पार्ने भयो । आखिर म त परजीवी न रहेछु । तिनकै आडमा बाँच्ने अनि बोलाएपछि मात्र तिनीहरूसम्म पुग्ने । म चाहन्छु– मान्छेले यही गुप्त रहस्यलाई नबुझोस् । म यसैमा खुशी छु । म विश्वव्यापी एक मात्र शक्तिशाली सबैको मुखमा जपिने भगवान् ।

[email protected]

Skip This
Logo