अन्य प्रदेश ३

दशैं अन्तिमतिर तर टीका र जमरा लगाउने क्रम आज पनि जारी

15 Shares

काठमाडौं ।

आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने क्रम विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु भएको हो । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तो छैन ।

कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति सवारी साधन गुडेनन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ ।
सोमबार (कात्तिक १०) विजयादशमीका दिन टीका लगाउन जान नभ्याएकाहरुले आफन्त र मान्यजनहरुको हातबाट लगाइने टीकालाई निरन्तरता दिइरहेका हुन् । यद्यपी केही समुदाय र ठाउँ विशेषमा भने दशैंको टीका एक दिन मात्र लगाउने परम्परा छ ।

अब विस्तारै दशैंको चहलपहल कम हुँदै गएको छ । कोरोनाकै कारण यसवर्ष सोचे जसरी पर्वहरु मनाउन नपाइए पनि अबको केही हप्तापछि नै अर्को ठूलो चार्ड तिहार आउने भएकाले नेपालीहरु अब तिहारको तयारीमा लाग्ने गर्दछन् ।

विगतमा दशैंको कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको सडकहरुमा बाक्लै भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भिड भने लागेन । कतिपयले भर्चुअल माध्यमबाटै शुभकामना र आर्शिवाद लिए भने कतिपयले जसोले विगतका दशैंका तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरेर चित्त बुझाए । यस वर्षका चाडपर्वमा कोरोनाले प्रभाव पारेपछि समग्ररुपमा दशैंतिहार जस्ता चार्डहरु औपचारिकताका लागि मात्र मनाउनु पर्ने बाध्यता छ ।

प्रकाशित: १३ कार्तिक २०७७ ०६:३८ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी